चितवन, २० माघ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई चितवनमा भव्य स्वागत गरिएको छ ।
भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी र्यालीका साथ निर्माणस्थल रामपुर पुर्याइएको थियो । रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष सीतारामले जिल्लामा बन्ने रङ्गशाला नेपालको गौरव हुने बताए ।
उनले चितवन र समग्र नेपाललाई नै विश्वसामु चिनाउन रङ्गशाला महत्वपूर्ण हुने बताए । उनले तोकेकै समयमा रङ्गशाला निर्माण सम्पन्न गरिने जानकारी गराए । फाउण्डेशनका उपाध्यक्ष कुञ्जनाले सबैको साथ र सहयोगका लागि आह्वान गरिन् । सरकारले यो महान् अभियानमा आफूहरुलाई सहभागी गराएको भन्दै उनले सबैको साथ र सहयोगबाट रङ्गशाला बन्ने बताइन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायण दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न जिल्लाका राजनीतिक दल सक्रियताका साथ लाग्ने बताए । उनले देशमा विकास निर्माणको युग शुरु भएको भन्दै त्यसमा हातेमालो गर्न सबैलाई आह्वान गरे ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रङ्गशाला निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कांग्रेस प्रतिपक्ष दल भए पनि विकास निर्माणमा सँधैं हातेमालो गर्दै जाने बताए ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनसँग सम्झौता भएपछि उत्साहित भएको बताइन् । उनले रङ्गशाला निर्माणका लागि सरकारी तवरबाट हुने सबै काम महानगरले गर्ने प्रतिबद्धता जनाइन् । सो अवसरमा विभिन्न दाताहरुले रु. एक करोडभन्दा बढी सहयोगको घोषणा गरेको महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए ।