वर्षमान पुन : सरकारकाे इज्जत धान्ने एक मन्त्री

barsaman-pun ananta
लाेकपाटी न्यूज

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ को लगातारको प्रयास स्वरुप नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने बाटो खुलेको छ । नेपालको पक्षमा लविङ गर्न सकेका कारण वर्षमानलाई इज्जत धान्ने मन्त्रीका रुपमा विश्लेषण गरिएको छ ।

भारतले क्रस बोर्डर विद्युत व्यापार आयात–निर्यात निर्देशिकामा परिमार्जन गरेपछि उत्पादित बिजुली भारत निर्यात गर्ने बाटो खुलेको हो । भारतले यसअघि आफ्ना लगानीमा बनेका आयोजनाको बिजुली मात्रै किन्ने गरी निर्देशिका ल्याएको थियो ।

दु ईवर्ष अघि ५ डिसेम्बर २०१६ मा भारतले जारी गरेको निर्देशिका परिवर्तनका लागि नेपालले द्विपक्षीय बैठकहरू तथा औपचारिक र अनौपचारिक तहमा आवाज उठाउँदै आएको थियो । निर्देशिकामा नेपालको कुनै निकायमार्फत विद्युत व्यापार गर्ने वा उत्पादन गृहबाट सीमापार विद्युत व्यापार गर्नको लागि सो निकाय वा विद्युत गृहमा भारतीय लगानी ५० प्रतिशतभन्दा बढी हुने पहिलेको व्यवस्था हटाइएको, अघिल्लो निर्देशिकामा विद्युतलाई भारतले रणनीतिक वस्तुको रुपमा परिभाषित गरेकोमा सो परिभाषा हालको निर्देशिकामा नरहेको, त्रिपक्षीय सम्झौताअनुसार हुने विद्युत व्यापारको लागि एक देशले अर्काे देशमा विद्युत व्यापार गर्दा भारतीय भूमिको माध्यम उपयोग गर्ने भारत सरकारको स्वीकृतिमा भारतीय प्रसारण संरचना प्रयोग गर्न सकिने तथा भारत सरकारको स्वीकृतिमा भारतको भूमिमार्फत दुई देशको बिचमा सिधै प्रशारण लाइन पनि बनाउन सकिने लगायतका विकल्पहरूको व्यवस्था गरिएको जनाइएको छ ।

साथै दुई देशबीच विद्युत व्यापार सम्बन्धी विद्यमान द्विपक्षीय सम्झौता रहेको खण्डमा सोही सम्झौतामार्फत नै विद्युत व्यापार हुन सक्ने व्यवस्था हुने भनिएको छ ।

यसबाट नेपालमा उत्पादन हुने जलविद्युतका लागि फराकिलो बजार सुनिश्चित भएको निजी क्षेत्रका स्वदेशी जलविद्युत प्रवर्द्धनको भनाइ छ । उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भैसकेकाले त्यसको बजारको रुपमा भारत लगायत तेस्रो देशलाई प्रयोग गर्न सकिने, नेपालको विद्युत उत्पादनलाई भारत हुँदै तेस्रो मुलुकसम्म बेच्न सकिने, विद्युत बजार सुनिश्चित भएपछि लगानीकर्ता आकर्षित हुने र स्वदेशमा जलविद्युत उत्पादन ह्वात्तै बढ्ने, नेपालमा बगिरहेका नदिनालाको उपयोग गर्दै विद्युत उत्पादन र बिक्रीमार्फत आर्थिक उन्नति र समृद्धिको मार्गमा देशलाई अगाडि बढाउन टेवा पुग्ने विश्वास पलाएको छ ।

यसअघि उर्जामन्त्री पुनले नेपाली विद्युत उत्पादनकर्ताहरूलाई प्रोत्साहन हुने गरी ‘टेक अर पे’ नीति ल्याएका थिए । यसबाट विद्युत उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएकै बेला भारतसँग गरिएको व्यापार आयात–निर्यात निर्देशिका परिमार्जन सम्झौताले नेपाली उत्पादकसमेत थप उत्साहि भएका छन् ।

उर्जा बैंकको कसरत

सरकारले भारतसँग विद्युत आयात निर्यात निर्देशिका सच्याउँदै भारतमा बिजली बेच्न बाटो खोलेसँगै ‘इनर्जी बैंकिङ’ का सन्दर्भमा पनि भारतसँग सहमति गरिएको छ ।

भारतमा पौष तेस्रो हप्ता सम्पन्न भएको नेपाल भारत ऊर्जा आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी)को बैठकमा बर्खायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग सहमति भएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले सो कुराको जानकारी दिँदै इनर्जी बैकिङको विधी र प्रारुप समेटिएको निर्देशिकालाई दुई मुलुकका सहसचिवस्तरीय ‘ज्वाइन्ट वर्किङ ग्रुप’ र सचिवस्तरीय ‘ज्वाइन्ट स्टेरिङ कमिटी’को बैठकले अनुमोदन गर्ने बताएका छन् ।

यसवर्ष माथिल्लो तामाकोशी जलविद्युतलगायतका केही आयोजना सञ्चालनमा आएपछि नेपाललाई बढी हुने बिजुली भारत पठाउने र सुख्खा मौसममा भारतबाट बिजुली ल्याइने प्राधिकरणले बताएको छ ।

-ऐक्यबद्धता मासिकबाट 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्