‘सरकारलाई अचम्म बनाउने पालो हाम्रो’: गगन थापा

Gagan Thapa
लाेकपाटी न्यूज

काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका नेता गगन थापाले संसदमा सरकारले दुई तिहाइको बलमा कांग्रेसमाथि गरेको व्यवहार बिर्सन नसकिने बताएका छन् । उनले प्रतिपक्षी दलका रुपमा आफूहरुलाई गरिएको व्यवहार लज्जास्पद रहेको बताएका हुन् ।

बुधबार प्रतिनिधिसभाको वैठकको शून्य समयमा बोल्दै थापाले नेपाली कांग्रेसले अब सदन अवरुद्ध नगराउने र सडकबाट सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।

उनले सरकारलाई जायज मुद्दामा सहयोग गर्न कांग्रेस सधै तयार रहेको बताए । सरकारले यति ठूलो प्रतिपक्षी दललाई नदेखेको र वेवास्ता गरेको बताउँदै अब सरकार र सत्ता पक्षलाई सडकबाट प्रतिपक्षी दल कहाँ छ भन्ने कुरा देखाई दिने उनको भनाई छ ।

उनले सरकार विगतमा भएका सहमतिहरुबाट आफै भागेर आश्चर्य लाग्दा निर्णयहरु गर्दै अगाडि बढेको आरोप लगाउँदै यसको जवाफ अब कांग्रेसले सरकार र सत्ता पक्षलाई सडकबाटै दिने बताए । उनले भने, ‘अब सडकबाट सरकार र सत्ता पक्षलाई आश्चर्यचकित बनाउने पालो हाम्रो हो ।’