‘छिट्टै एकताको सन्देश दिन्छौँ’: अध्यक्ष प्रचण्ड

Prachanda_gautam_buddha_stadium-e1548851590915
लाेकपाटी न्यूज

सिन्धुपाल्चोक, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै देशभर एकताको सन्देश दिने बताएका छन् ।

बुधबार चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित सेतीदेवी पञ्चकन्या माविको ४२ औं बार्षिकोत्सवमा उनले अबको केहीदिनै तल्लो स्तरसम्म पार्टी एकता हुने बताएका हुन् । उनले भने, ‘केही प्राविधिक कारणले एकता प्रक्रियामा ढिलाइ भएको छ, अब केहीदिनमा नै टुङ्गोमा पुग्छ’ ।

उनले सचिवालय बैठकले कार्यदललाई छिटो प्रतिवेदन बुझाउन निर्देशन दिएको बताउँदैँ अब बस्ने सचिवालय बैठकले त्यसलाई पारित गर्ने दावी गरे ।

उनले सचिवालयले बनाउने एकताको मोडललाई स्थायी कमिटी बैठकले अन्तिम रुप दिएपछि देशभर एकताको सन्देश लिन कार्यक्रम गर्ने बताए । ‘पार्टी कमिटीमात्रै होइन जनसंगठनको एकता पनि तल्लो स्तरसम्म एकै पटक टुङ्गो लगाउँछौं’ प्रचण्डले भने, ‘फागुन र चैत महिनाभर पार्टी एकताको सन्देश लिएर नेताहरु जाने कार्यक्रम बनाउँछौँ ।’

यस्तै उनले सरकारले छोटो समयमा धेरै काम गरेको बताए । उनले भने, ‘बाहिर देखिने गरेर केही काम भएको छैन तर, भित्रभित्रै धेरै काम भएको छ, एउटा युगन्तकारी परिर्वतन भएको छ ।’ अब त्यो बिस्तारै बाहिर आउने र सरकार गरेको काम पनि देखिने उनको भनाई छ ।

अध्यक्ष प्रचण्डले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लागेको र त्यसका लागि नयाँशिक्षा ऐन ल्याउन खोजेको बताए ।

कार्यक्रममा सासंद अग्नि सापकोटाले सिन्धुपाल्चोकको शैक्षिक क्षेत्रको विकासका लागि प्रचण्डको ध्यानआर्कषण समेत गराएका थिए ।