अझै केही दिन पानी पर्ने, पहिरोको उच्च जोखिम

Rain-8
लाेकपाटी न्यूज

काठमाडौं, २४ माघ । बिहीबार बिहानैदेखि उपत्यकासहित देशभरिका विभिन्न ठाउँमा वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हुम्ला, डोल्पा, जुम्लालगायत हिमाली जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेकोे छ ।

वर्षा महिनामा जत्तिकै बाढीपहिरोको जोखिम नभए पनि यसपटक अलि बलियो खालको हिउँदे वर्षा भएकाले पहाडी र हिमाली क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन जरुरी रहेको महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।

उनले यसपटक अलि बलियो खालको प्रणाली भित्रिएको बताए । आफुले गरेको पूर्वानुमानअनुुसार पश्चिमका केही क्षेत्रमा भारी वर्षा भएर खहरे खेलाहरू उर्लने तथा कतिपय ठाउँमा पहिरो, हिपहिरो जाने, बाटो भत्केन सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन जरुरी रहेको उनले बताए ।

यसअघि नै बिहीबार र शुक्रबार उच्च पहाडी क्षेत्रमा हिमपहिरो र पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना रहेको भन्दै ऊर्जा मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

शाखाले बुधबार उच्च पहाड क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको भन्दै हिमपहिरो र पहिरोका सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सूचित गरेको हो ।

बाढी पुर्वानूमान महाशाखाले बिहीबार देशको अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुनसक्ने देखिएकाले हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ । पहाडी क्षेत्रका स साना खोलाहरुमा आकस्मिक बहाव प्रवाह हुन पनि महाशाखाले जनाएको छ ।

इलाम, झापालगायत पूर्वी जिल्लामा भने मौसम बदली भएको छैन । बादल विस्तारै पूर्वतर्फ गइरहेकाले दिउँसो या बेलुकीसम्ममा पूर्वी क्षेत्रमा पनि पानी पर्ने अनुमान गरिएको छ । शनिबारदेखि मात्र मौसममा सुधार आउने पौडेलले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्