नव नियुक्त राजदुत र चेम्वरबीच अन्तरक्रिया

chamber
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ माघ । बिहीबार नेपाल चेम्बर अफ कमर्स र नवनियुक्त नेपाली राजदूतहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ ।

विहिबार राजधानीमा बिभिन्न मुलुकहरुमा नेपालको राजदूत नियुक्ति भइ आफ्नो जिम्मेवारी वहन गर्न जान लागेका राजदूतहरुसंग चेम्बरले अन्तरक्रिया कार्यक्रम गरेको हो ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले कार्यक्रमलाइ सम्बोधन गर्दै नवनियुक्त सबै राजदुतहरुलाई बधाई तथा शुभकामना दिए ।

उनले कार्यक्रममा बोल्दै ‘समृद्द नेपाल, सुखी नेपाली’ को नारा पुरा गर्नको लागि देशभित्र र देश बाहिर अनुकुल वातावरण कायम गर्न सरकार लागि परेको अवस्थामा आर्थिक कुटनीतिलाई मजबुत बनाउनुपर्ने बताए । ‘रिसिभिंग स्टेट’ देशको प्रतिनिधिको हैसियतमा रहने भएकाले उनीहरुको भूमिका महत्वपुर्ण हुने उनको भनाई छ ।

अध्यक्ष श्रेष्ठले राजदुतहरुले नेपालको राष्ट्रिय स्वार्थ पुरा गर्नलाई नेपालको ब्यापार प्रबर्दन, लगानी अभिबृद्दी, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा बिशेष पहल गर्न समेत अपील गरेका छन् ।

यस्तै भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने बताए । उनले भने, ‘मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले म भारतमा रहँदा त्यसै कामलाई प्राथमिकताका साथ अघि बढाउने छु ।’

बिहीबार नेपाल चेम्बर अफ कमर्सले काठमाण्डौमा आयोजना गरेको नवनियुक्त राजदूतहरुको सम्मान कार्यक्रममा बोल्दै उनले आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन पनि व्यवसायीहरुलाई आग्रह गरे ।

राजदूत आचार्यले आर्थिक कूटनीतिको माध्यमबाट मुलुकमा लगानी भित्र्याउन आवश्यक पहल गर्ने बताए । उनले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउने योजना आफूले लिएको जानकारी दिए ।

यस्तै मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेपाली उद्योगीहरु ब्यापारी मात्र नभइ उत्पादनकर्ता समेत भएको बताए ।

इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले लगानीकर्ता भित्र्याउन आफुले सक्दो पहल गर्ने कुरा बताईन । उनले आफु नेपाली महिला व्यवसायीहरु र इजराइलका महिला व्यवसायीहरुको बिचमा सम्बन्ध स्थापित गर्न प्रयासरत रहने कुरा समेत व्यक्त गरिन ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले सन् २०२२ सम्ममा अति कम बिकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन र सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्र बन्न नेपालले आफ्नो ब्यापारमा भारि मात्रामा सुधार गर्नु पर्ने कुरा बताए ।

कार्यक्रममा संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदुत कृष्ण प्रसाद ढकाल, थाईल्याण्डका लागि नेपाली राजदुत गणेश ढकाल, स्वीटजरल्याण्डका लागि नेपाली राजदुत मणी भट्टराई, फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी र कुवेतका लागि नेपाली राजदुत दुर्गा शर्माले आफ्नो कार्यकालभरि समृद्द नेपाल सुखी नेपालीको नारालाई सार्थक तुल्याउन लाग्ने कुरा बताए । कार्यक्रममा करिब एक सय जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्