सञ्चालनमा नआएका सुदूरपश्चिमका ८ विमानस्थल

bimansthal
लाेकपाटी न्यूज
0 Shares

अमरगढी, २५ माघ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालनमा आउन सकेका छैनन् ।

विगतको द्वन्द्व अवधिमा बन्द भएका विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा सञ्चालनमा आउन नसकेका हुन् । सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको गेटा र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् भने अन्य आठ विमानस्थल बन्द छन् ।

उद्योग वाणिज्य सङ्घ डडेल्धुराका अध्यक्ष खेमराज पनेरु भनछन्, ‘विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।’

बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दीपायल, अछामको साँफेबगर, कमलबजार, बझाङको चैनपुर, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा छन् । सञ्चालनमा रहेको बाजुराको कोल्टी विमानस्थलमा हवाईसेवा नियमित हुनसकेकोे छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि नेपाल वायुसेवा निगमले सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज नउडाएको बतायो ।

सुदूरपश्चिमका विभिन्न विमानस्थल सञ्चालनका लागि तत्कालीन मन्त्री लोकेन्द्र विष्टमगरले परीक्षण उडान शुरु गरे पनि हालसम्म उडान हुनसकेका छैनन् । सुदूरपश्चिमको क्षेत्रीय विमानस्थल सञ्चालन गर्न तत्कालीन क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले पहल गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन् ।

पर्यटन पत्रकार सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमर भट्टराईले सुदूरपश्चिममा सहज हवाई यातायात सुविधा नहुँदा पर्यटन क्षेत्रको विकास हुन नसकेकोे बताए । बन्द विमानस्थल सञ्चालन हुन नसकेकै कारण नेपालकै सुन्दर ठाउँ खप्तडमा हालसम्म न्यून मात्रामा विदेशी पर्यटक आएको उनको भनाई छ ।

विमानस्थलमा जहाज नउड्दा आपतकालीन बिरामी तथा अन्यत्र लैजानुपर्ने गर्भवती महिलाले ज्यान गुमाउनु पर्ने जस्ता समस्या आउने गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्