काठमाडौं, २५ माघ । नेकपाका सांसद हृदयश त्रिपाठीले कृषि मन्त्रालय खारेजीको माग गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद त्रिपाठीले कृषि मन्त्रालयले किसानको हितमा काम नगरेको भन्दै खारेज गरिनु पर्ने माग गरेका हुन् । उनले मन्त्रालयले किसानको पक्षमा नभई बिचौलियाको पक्षमा काम गर्दै आएको दाबी गरेका छन् ।
२०३४ सालदेखि अहिलेसम्म भएको कुल कृषि लगानीमा किसानमाथि जम्मा १८ प्रतिशत र किसानको नाममा विभिन्न तामझाममा ८२ प्रतिशत खर्च भएको भन्दै उनले कृषि मन्त्रालयको कार्यशैलीमा प्रश्न गरे । उनले भने, ‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ । यो पनि बिचौलियाकै पक्षमा काम गर्ने रहेछ ।
आफूले पटकपटक उखु किसानको समस्याबारे कुरा उठाएको तर सरकारले नसुनेको भन्दै उनले जुनसुकै सरकार आए पनि सबै सरकारबाट किसानहरु उपेक्षित हुँदै आएको र बिचौलियाहरु मालामाल हुने गरेको बताए ।
सरकारले उखुको मुल्य तोके पनि मिलहरुले अहिलेसम्म किसानलाई दिन नसकेको तर्फ उनले सरकारको ध्यानाकर्षण समेत गराए ।
कृषि मन्त्रालयको जटिल सर्कुलेसनको कारण २५ देखि ३० प्रतिशत किसानले मात्रै गत वर्षको उखुको मुल्य पाएको तर यसबर्षको भने बाँकी नै रहेको उनले दाबी गरे । उनले चिनी उत्पादनका लागि मिल ढिलो चलकाले जेठ असारतिर चिनीको संकट उत्पन्न हुने बताए ।