ललितपुर-५ मा एकै दिन तीन महत्वपूर्ण कार्यक्रम सम्पन्न

Bikash Shrestha01
लाेकपाटी न्यूज
0 Shares

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर पाँचमा माघ २६ गते तीन वटा महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन् । भिन्न भिन्न ठाउँमा आयोजना भएका उक्त कार्यक्रमको समानता एउटै थियो । कार्यक्रमको समानता- वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमूख आतिथ्यता । शनिबार आयोजित कार्यक्रममा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम, आत्म रक्षा तालिम समापन कार्यक्रम र सोही वडास्थित दक्षिणकाली टोल विकास संस्थाको वार्षिक साधारणसभा रहेका छन् ।

बाल प्रतिभा प्रस्फुटन कार्यक्रम

बाल अधिकार संरक्षण तथा सम्वर्द्धन समिति-५ र ललितपुर महानगर स्थित लगनेश्वर बाल समूह र बाल प्रतिभा समूहको सयुंक्त आयोजनामा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम भएको छ । अक्सब्रिज कलेज प्राङ्गणमा आयोजित सो कार्यक्रममा करिब १५० बालबालिकाले उपस्थिति जनाएका थिए । कार्यक्रममा बालबालिकाहरुले नाच, गीत तथा नाटक प्रस्तुत गरेका थिए । सोही अवसरमा प्रतिभा प्रस्तुत गर्ने बालबालिका लगायतलाई कार्यक्रमका प्रमूख अतिथी ललितपुर-५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले कदर पत्र वितरण गरेका थिए ।

कदरपत्र वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बालबालिका भनेका भविष्यका कर्णधार भएको औंल्याए । उनले बालबालिका माथिको राज्यको लगानी भोलिको समुन्नत नेपाल निर्माणको आधारशिला रहेको बताए । कार्यक्रममा वडा सदस्य शोभादेवी श्रेष्ठ, पुनम निरौला, अशोक श्रेष्ठ, मैया रिजाल र आयोजक बाल समूह संस्थाका तर्फबाट अध्यक्षद्वय बिपिन रिजाल र अभिशेक दियालीले मन्तव्य राख्दै बालअधिकार प्रवर्द्धनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।

आत्मरक्षा तालिम कार्यक्रम

ललितपुर महानगरपालिका वडा नम्बर ५ को सहयोग, श्री महालक्ष्मी टोल विकास संस्थाको आयोजना र थसिखेल महिला समूहको सहआयोजनामा सम्पन्न २५ दिने आत्मरक्षा तालिमको समापन कार्यक्रम माघ २६ गते सम्पन्न भएको छ । वूडभिल्ला स्कुल परिसरमा आयोजित सो कार्यक्रममाझमा तालिम हासिल गर्ने नारीहरुलाई कार्यक्रमका वडा अध्यक्ष विकासमान श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रमाण पत्र वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले स्थानीय स्तरमा नारीहरुलाई आत्मरक्षा तालिम दिइनु स्वागतयोग्य रहेको बताउँदै यस्ता तालिमले नारीहरुको आत्मविश्वासलाई बढवा दिन अझ सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा आयोजक संस्था श्री महालक्ष्मी टोल विकास संस्थाका अध्यक्ष रमेश शाक्य र सहआयोजक संस्था थसिखेल महिला समूहकी अध्यक्ष वसन्ती रिजालले आत्मरक्षा तालिममा ३५ जना नारीको सहभागिता रहेको बताउँदै उक्त तालिमको आयोजनाले नारीहरुलाई आत्मबल प्रदान गरेको बताए ।

दक्षिणकाली टोल विकास संस्थाको वार्षिक साधारणसभा कार्यक्रम

दक्षिणकाली टोल विकास संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । माघ २६ गते आयोजित उक्त कार्यक्रममा टोलवासीको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले टोल विकास संस्थाको गतिशील भूमिकाले वडा र समग्र नगर क्षेत्रको विकासमा टेवा मिल्न जाने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्