विकास बजेट काटेर जनप्रतिनिधिलाई रक्सी–मासुको पार्टी

Party01
लाेकपाटी न्यूज

धरान, २८ माघ । धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा खर्च गरेका छन् । धरान उपमहानगरपालिकाका जनप्रतिनिधिले पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा खर्च गरेको बताइएको छ । उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवर्द्धन कुनै पनि काम भने गरेको छैन ।

पर्यटनमा विनियोजन गरेको रकमबाट पर्यटन सम्बन्धी योजना छनौट गरी बजेट खर्च गर्ने नियम भएपनि उपमहानगरपालिकाले बजेटलाई आफू खुशी दुरुपयोग गरी नीतिगत भष्ट्रचार गरेको प्रमाण फेला परेको छ । लेखा अधिकृत भेषराज अधिकारीले पर्यटन शीर्षकमा उपमहानगरपालिकाले रु. ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च गरेको बताए । उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि पर्यटन विकास उपशाखासँग स्थानीय विभिन्न संघ संस्थाले रु. तीन लाख पाँच हजारको मात्र कार्यक्रमको सम्झौता गरेको छ ।

पर्यटन विकासलाई भनेर धरान उपमहानगरले चालु आर्थिक वर्षका लागि एक करोड रुपैयाँ छुट्याएको थियो। छुट्याइएको मध्ये ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च भइसकेको छ । तर पर्यटन शीर्षकमा अहिलेसम्म तीन लाख पाँच हजार रुपैयाँको मात्रै विभिन्न संघ संस्थासँग सम्झौता गरिएको हो । जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अन्य रकम आफू खुसी पाटी र भोजको आयोजना गरेर पर्यटन विकासको बजेट स्वाहा बनाइएको स्रोतले बतायो ।

पर्यटन विकासमा छुट्याइएको बजेटबाट धरानको ईजी राइर्डस होटेलमा छ लाख भन्दा बढीको मदिरा पाटी गरिएको छ । उक्त पाटीमा सहभागीलाई वास्र्टनर वियर, रुस्लान भोट्का र मासु भात खुवाइएको थियो । धरान उपमहानगरले इलाम नगरपालिकासंग भगिनी सम्बन्ध गाँस्न जाँदा १० लाखभन्दा बढी रकम मदिरा सेवन र मासुभातमा खर्च गरेको छ। धरानमा आयोजना गरिएको चिया महोत्सवमा आएका पाहुनालाई धरान स्विमिङ पुलमा आयोजना गरिएको मदिरा पाटीको दुई लाख २१ हजार रुपैयाँ धरान किचन होटेललाई पर्यटन विकास बजेटबाट भुक्तानी गरिएको छ। स्विमिङ पुलमा आयोजना गरिएको पाटीमा वल्र्ड दरबार र मासु भात खुवाइएको थियो ।

पर्यटन विकास समितिका सह–संयोजक किशोर थुलुङ र धरान उपमहानगरका तत्कालिन प्रेस संयोजक योगेशबावु काफ्लेले भेडेटारसम्मको पदयात्रा सम्भावना र पहिचानका क्रममा लोकल रक्सी र कुखुराको भाले खाएको ३० हजार छ सय २५ रुपैयाँ उपमहानगरपालिकाले भुक्तानी गरेको छ । पर्यटन विकास उपशाखा प्रमुख भक्तिराज शर्मा जनप्रतिनिधि आएपछि पिण्डेश्वर बाबाधाम, विग इभेन्ट, सुनसरी जिल्ला साईक्लिङ संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, सिल्भर इन्टरटेन्मेन्ट र नेपाल खड्गी सेवा समितिसँग मात्र तीन लाख पाँच हजार रुपैयाँको सम्झौता गरेको जानकारी दिए । तर, धरान उपमहानगरपालिकाले धरानका प्रमुख धार्मिक स्थलहरु, विष्णुपादुका, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा मन्दिर तथा पर्यटकीय स्थलहरु शिवजट्टा, चिन्डे डाँडा, सूर्य कुण्ड लगायतका स्थानको विकासमा बजेट खर्च नगरी मदिरा र मासुभातमा बजेट सकेको स्थानीको गुनासो छ ।

धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले पर्यटन विकासको बजेट दुरुपयोग नगरेको दावी गरेकी छन् । उनले पर्यटनको बजेट कार्यपालिकाको निर्णयबाट पास गरेर खर्च गरिएको बताइन् । यो खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्