काठमाडौँ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै पूरा गर्ने बताएका छन् । आज पार्टी मुख्यालय धुम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जली’ सभामा उनले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताएका हुन् ।
शहीदप्रति श्रद्धाञ्जली कार्यक्रमले पार्टी एकतामा थप ऊर्जा प्राप्त गर्ने अवसर रहेको बताउँदै प्रचण्डले भने ‘कार्यकर्तामा जनसङ्गठनको एकता ढिलो भइरहेको बेला पार्टी एकता के होला, कसो होला भनेर चिन्ता बेलाबेलामा प्रकट हुने गर्दथ्यो तर अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसङ्गठनको एकतालाई टुङ्ग्याएर एउटा राष्ट्रव्यापी अभियानमा अगाडि बढ्ने छौँ ।’ पार्टी एकता सफल पार्न एक÷दुई जना नेताले मात्र नभएर सबै नेता, कार्यकर्ता लाग्नुपर्नेसमेत उनले बताए ।
वैचारिक र राजनीतिक रुपमा नयाँ चरणमा पार्टी प्रवेश गरेको उल्लेख गर्दै उनले भावनात्मक रुपमा अलग–अलग धारमा अगाडि बढेका नेता, कार्यकर्तालाई यस्ता कार्यक्रमले एक ठाउँमा ल्याउने बताए ।
जेठ ३ र फागुन १ गतेलाई वैचारिक राजनीतिक एकतालाई सुदृढ गर्ने र हामीभित्र सङ्गाठनिक भावनात्मक एकतालाई मजदुत बनाउने अवसरको रुपमा लिनुपर्ने आफ्नो भनाइ रहेको बताउँदै उनले सबै राजनीतिक दलको सहमति र सहकार्यबाट मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको मार्गमा लगेर जनताको सपना पूरा गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले एकताबद्ध हुन नसकेका कम्युनिष्टलाई पनि अहिलेको पार्टी एकतामा गोलबद्ध हुन आग्रह गरे । उनले कम्युनिष्ट समूहलाई मात्र नभएर नेपाली काङ्ग्रेस र मधेश केन्द्रित सबै पार्टीलार्इ विकास र समृद्धिको एजेण्डामा सहकार्य गराैँ भन्दै नेपाली जनताले राजनीतिक स्थिरताका लागि निकै ठूलो बलिदान गरेको हुनाले अब एक भएर विकास र समृद्धिकाे यात्रामा अगाडि बढ्न आह्वानसमेत गरे ।
‘हामीले ठूला–ठूला राजनीतिक परिवर्तन सबै एक ठाउँमा आएर हासिल गरेका हौँ’ । उनले भने ‘अहिले हामी सबैको एजेण्डा समृद्ध नेपाल र विकसित नेपाल हो । देशलाई निरन्तर अगाडि बढाउन देशमा रहेका सबै राजनीतिक शक्तिसँग सहमति र समझदारीकाे आवश्यकता रहेको छ ।’ उनले हिजो विभिन्न जनआन्दोलनमा सहभागी सबै पार्टीलाई सबै खालको भ्रम र विग्भ्रम छोडेर मुलुकलाई साकार पार्ने दिशातर्फ सबै दल लाग्नुपर्ने बताए ।
अध्यक्ष दाहालले लोकतान्त्रिक तरिकाले कम्युनिष्ट पार्टीको एकता र दुई तिहाइको लोकप्रिय बहुमतले अहिलेको सरकार प्राप्त भएकाले कम्युनिष्टका लागि योभन्दा ठूलो र युगान्तकारी परिवर्तन केही हुन नसक्ने धारणा राखेका छन् ।
मुलुकको विकास गर्नका लागि अहिलेको विकल्पभन्दा अर्को विकल्प नभएकाले अहिलेको बाटोले मात्र मुलुकलाई समाजवाद, सामाजिक न्यायतिर लैजान सकिने भन्दै उनले भने, ‘यही बाटाले मात्र तपार्इ हामीले देखेको सपना पूरा गर्न सक्दछौँ ।’
उनले विभिन्न प्रतिक्रान्तिवादीले विभिन्न षड्यन्त्रमार्फत कम्युनिष्ट पार्टीलाई कमजोर पार्न नेताबीच फाटो ल्याउने, अविश्वास ल्याउनेजस्ता विभिन्न कसरत गरिरहेको बताउँदैे प्रतिक्रियावादीको उक्साहटमा नलागी कम्युनिष्ट आन्दोलनलाई एकजुट बनाउन आवश्यक रहेको बताए ।
उनले अहिलेको कम्युनिष्ट आन्दोलन लोकतान्त्रिक तरिकाले बलियो भएर आएको हुनाले पहिलाजस्ता कैयौँ देशमा हजारौँ लाखौँलाई कत्लेयाम गरेर कसैले नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न नसकिरहेको बताए । ‘प्रतिक्रियावादी र अवसरवादीको उस्काहटमा आउने छैनौँ । हामीलाई यो पार्टी एकता कसैले माया गरेर, दया गरेर दिएको होइन’, उनले भने ‘हाम्रै महान् शहीदकाे त्याग र जनताको क्रान्तिकारी बलले पार्टी एकता गरेका हाैँ।’
उनले आफूहरु १९औँ शताब्दी र २० औँ शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभवलाई समीक्षा र लेखाजोखा गरेर अबको २१ औँ शताब्दीको लागि समाजवाद निर्माणको एउटा नयाँ ढाँचाको खोजीमा रहेको बताए ।
उनले नेपाल गरीब र पछौटे मुलुक भए पनि राजनीतिक रुपमा गरेका कामलाई संसारले ध्यानपूर्वक हेरेको भन्दै साना शक्तिमात्र होइन सबै खालका शक्तिले नेपालमा के भइरहेको र के हुन थालेको छ भनेर हेर्न थालेको बताए ।