स्थायी समिति वा सचिवालय बसेर एकता टुङ्गाउँछौं : प्रचण्ड

Prachanda-10
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब ७० प्रतिशत व्यवसायिक र प्राविधिक शिक्षा र ३० प्रतिशत मात्र सैद्धान्तिक शिक्षा दिइने बताएका छन् ।

कार्कीगाउँ माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रमसहितको वार्षिकोत्सव समारोहमा उनले संविधानमा उल्लेखित मौलिक हक र अधिकारलाई कानूनसम्मत ढङ्गले व्यवस्थित बनाइएकोले अब शिक्षबाट कोही पनि बञ्चित हुन नपर्ने समेत बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले पार्टीको काम र सरकारको अवस्थाअनुसार धेरै समय निकालेर बाहिर घुम्न सक्ने अवस्था नभएको बताएका छन् । हाम्रो पार्टी एकता सम्बन्धि गठित कार्यदलले सर्वसम्मत रुपमा प्र्रतिवेदन बुझाइसकेकाले त्यसलाई प्रस्ताव बनाएर सचिवालय वा स्थायी समितिमा प्रस्तुत गरी पाटी एकताको विषयलाई छिटै टुङ्ग्याउने पनि उनले जानकारी दिए ।

उनले देश अहिले नयाँ परिवर्तनको प्रवाहसँगै विकास र समृद्धिको दिशामा अगाडि बढिरहेको बताएका छन् । त्यसो त नेपालमा वि.सं. २००७ सालको राणाविरोधी आन्दोलन, ३० वर्षे पन्चायत विरोधी आनदोलन, वि.सं. ०४६ को ऐतिहासिक जनआन्दोलन लगायतका धेरै आन्दोलन र परिवर्तहरु भए पनि ती परिवर्तनले मुलुकको व्यवस्था र नेपाली जनताको जीवनमा जगैदेखि प्रभाव नपारेको प्रष्ट्याएका छन् ।

उनले भने ‘ती बेलाका परिवर्तन राजतन्त्रसँग मात्र सम्बन्धित थिए । तर, अहिलेको परिवर्तनमा सिस्टमको परिवर्तन भएको छ । गणतन्त्रात्मक व्यवस्था आएको छ र पहिलोपल्ट नेपाली जनता वास्तविक अर्थमा सार्वभौमसत्तासम्पन्न भएको छ । संविधान निर्माण गर्नेदेखि सरकार निर्माण गर्ने अधिकार जनताको हातमा प्रत्यक्ष रुपमा आएको छ । यसर्थ हामीले यो परिवर्तनलाई एउटा युगान्तकारी परिवर्तन भनेका छौं ।’

उनले लामो समयको सङ्घर्ष र हजारौं जनताको त्याग र बलिदानीबाट मात्र मुलुक यो अवस्थामा आइपुगेको बताउँदै उनले सम्पूणै परिवर्तनका संवाहक नेपाली जनता भएको स्पष्ट पारेका छन् । उनले भने ‘हामीले चुनाव होला कि नहोलाको स्थितिमा पनि सबै राजनीतिक दलहरुको सहमतिमा देशलाई चुनावको प्रक्रियामा लग्यौं । समस्याहरु धेरै थिए । तर, ती समस्याहरुलाई जनताको हितमा राखेर रचनात्मक ढङ्गले समाधान गर्दै अगाडी बढ्यौं । र अहिले देशमा करिब ७० वर्षपछि राजनीतिक रुपमा स्थायित्व प्राप्त भएको स्थिर सरकारका साथ हामी समृद्धिको यात्रामा यात्रारत छौं । ’

कार्यक्रममा बोल्दै प्रचण्डले गएको एक वर्षमा सरकारले चीन र भारतसँग आर्थिक र राजनीतिक विषयमा राम्रा सहमति गरेको बताएका छन् । जसले चीनका चारवटा बन्दरगाहबाट तेस्रो मुलुकमा व्यापार गर्न सकिने वातावरण बनेको जानकारी गराए । उनले भने ‘चीनबाट केरुङ हुँदै पोखरा र लुम्बीनीसम्म रेलमार्गको एउटा मार्गचित्र तयार गर्ने प्रक्रियामा छौं । त्यस्तै भारतसँग पनि रेलमार्ग र जलमार्गबाट काठमाडौंलाई जोड्ने सहमति भएको छ । यसो भयो भने कलकत्ताबाट मात्र सामन ल्याउनुपर्ने समस्याको अन्त्य हुने छ । हवाइमार्गलाई पनि चारै दिशाबाट जोड्ने सहमति भएको छ । भारतका विभिन्न बन्दरगाह हामीले पनि प्रयोग गर्न पाउने वातावरण बन्दै छ ।’

धादिङकै सन्दर्भमा त्यहाँ रहेको १२ सय मेघावाटको बुढीगण्डकी जलाशययुक्त परियोजना सबैको चासो र राष्ट्रिय गौरवको विषय भएको बताउँदै उनले उक्त योजनाले प्रभाव पार्ने बजारको मुआब्जा निर्धारण गरेर मात्र परियोजना अघि बढ्ने आश्वासन दिएका छन् ।

उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उनले मध्यपहाडी लोकमार्गको काम पनि यो वर्षबाटै शुरु हुने बताएका छन् । धादिङको सल्यान्टारलाई शहरीकरण गर्ने सम्बन्धमा डिपीआर बन्दै गरेको जानकारी दिँदै उनले धादिङ्मा प्राय कच्ची बाटाहरु भएकोले चाँडै मुख्य बाटाहरुलाई पक्की बनाउन आफूले सकेको पहल गर्ने विश्वाससमेत दिलाए ।