‘पिक टाइम’ को ‘डिमाण्ड’ पूरा गर्छौं : वर्षामान पुन

barsaman pun
लाेकपाटी न्यूज

काठमाडौं ७ फागुन । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले पिक टाइमको समयमा विजुलीको सहज आपूर्ती गराउन कास्कीको रुपाताल र बेगनास तालमा पम्प स्टोरेज आयोजना अघि बढाइएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिंदै उनले भने, ‘कास्की जिल्लामा रहेको रुपाताल र वेगनास तालमध्ये डाउन स्ट्रिममा रुपताल र अप स्ट्रिममा बेगनास ताल रहेका छन् । अहिले सम्मको जलविद्युतको उत्पादन हेर्दा नदी प्रवाही अर्थात रन अफ रिभर प्रकृतिका रहेका छन् । यसर्थ पिक टाइमको डिमान्ड पुरा गर्न यसको अध्ययन भइराखेको छ ।’

उनले वि.सं. २०७४ कात्तिकमा विद्युत विकास विभागबाट नेपाल विद्युत प्राधिकरणले सर्भे लाइसेन्स प्राप्त गरिसकेपछि १५० मेगावाट क्षमताको पम्प स्टोरेज प्रोजेक्ट अध्ययन भइराखेको बताए । मन्त्री पुनले यो नयाँ अवधारणाअनुसार निमार्ण गर्न लागिएको पहिलो आयोजना रहेको पनि जानकारी दिए ।

बेगनास तालको पानी बेलुकापख रुपातालमा झार्ने र जसबाट पिक टाइममा १५० मेगावाट ४ देखि ५ घण्टा विद्युत उत्पादन हुने उनले जानकारी दिए । त्यसपछि दिउँसो त्यही पानी पम्पबाट बेगनास ताल लैजाने गरी पिक टाइमको डिमान्ड व्यवस्थापन गर्न सजिलो हुने मन्त्री पुनको भनाइ छ ।

बैठकमा प्रश्नकर्ता सांसद खगराज अधिकारीका तर्फबाट सांसद दिलबहादुर महत क्षेत्रीले मन्त्री पुनलाई रुपाताल–बेगनास तालको पानी उपयोग गरी जलाशययुक्त आयोजना सञ्चालन गर्ने सम्बन्धमा के कति प्रगति भएको छ ? कहिलेसम्म आयोजना सम्पन्न हुन्छ ? भनी प्रश्न गरेका थिए ।