काठमाडौं ७ फागुन । बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया किशोरी निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ ।
यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । डीएनएको वैधानिकतामा नै प्रश्न उब्जिएपछि प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट परीक्षणका लागि अमेरिका पठाउन लागिएको हो ।
निर्मलाको डीएनएको वैधानिकतामाथि राष्ट्रिय मानव अधिकार आयोगले पनि प्रश्न उठाएको थियो । निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण ‘इलेक्ट्रोफेरोग्राम’ परीक्षणको प्रक्रियामाथि पनि प्रश्न उठेको छ ।
विज्ञहरुले डिएनएको समग्र संकलन प्रक्रियाका लागि विज्ञ समूह गठन गर्न सुझाव दिँदै आएका छन् । स्रोतका अनुसार ‘इलेट्रोफेरोग्राम’ लाई अमेरिका पठाइनेछ । यसबारे डीएनए विज्ञहरुसँग छलफल भइरहेको स्रोतले बतायो ।