काठमाडौं, ८ फागुन । नेपाल बार एसोसिएसनको चुनाव नजिकिएको छ । चुनाव नजिकिएसँगै एसोसिएसनले उम्मेद्वार मनोनयनको लागि कानुन व्यवसायीहरुलाई आह्वान गरेको छ । नेपाल बार एसोसिएसन आफैंमा एउटा कानुन व्यवसायीको हक, हित र अधिकार तथा न्यायको पैरवी गर्ने संस्था हो ।
यस्तो संस्थाले उम्मेद्वार मनोनयन शुल्क महङ्गो गरेको भन्दै कानुन व्यवसायीहरु रुष्ट भएका छन् । एसोसिएसनले बारको अध्यक्ष पदको उम्मेद्वार मनोनयन शुल्क मात्रै ४० हजार तोकोको छ । कानुन व्यवसायीको हक, हित र अधिकार तथा न्यायको पैरवी गर्ने संस्थाले नै उम्मेद्वार मनोनयन शुल्क यती धेरै रकम तोक्नु बार एसोसिएसनको मनपरी र ज्यादती भएको कानुन व्यवसायीहरुको तर्क छ ।
महङ्गो दर्ता रकम तोकेर साना संगठन, स्वतन्त्र उम्मेद्वार र कमजाेर आर्थिक अवस्था भएका उम्मेद्वारलाई चुनावमा भाग लीन रोक लगाउने एवं नियोजन गर्ने प्रपंच रच्न खोजिएको कानुन व्यवसायी एवम् नयाँ शक्ति नेपालका नेता कृष्णप्रसाद शर्माले बताएका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हामी यति चर्को रकÞम असूली गरेर चुनावलाई सभ्रांत वर्गको मात्र पेवा बनाउने प्रवृत्तिको घोर बिरोध र भर्त्सना गर्दछौं ।’
यसैबीच नेकपा समर्थित नेपाल लयर्स एसोसिएसन (NLA) ले नेपाल वार एसोसिएसन–२०७५ को निर्वाचनमा NLA नेतृत्वको संयुक्त प्यानलवाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा रहेको सिङ्गो प्यानललाई अत्यधिक वहुमतले विजयी गराउन सबैमा आग्रह गरेको छ ।