हाम्रो व्यवस्था नै फेल हुन लाग्यो : प्रा.डा. ढुङ्गेल

Prof. Dr. Dhungel
लाेकपाटी न्यूज

काठमाडौं । संस्कृतिविद् प्रा.डा. रमेश ढुंगेलले सरकार सफल वा असफल भन्नुभन्दा पनि व्यवस्था नै असफल भएको दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स् क्लबमा बोल्दै उनले भने, ‘धर्मनिरपेक्षता र संघीयता लागू गर्दा जनताको मत लिइएन । अहिले लोकतन्त्र र संघीयता दुवै फङ्सनिङ छैन ।’ सरकारले विभिन्न निकायमा नियुक्ति गर्दा ज्ञाताहरुलाई नियुक्त नगरेको पनि उनले गुनासो पोखे । उनले २१ अर्बका ९ सय ६ वटा ठेक्कापट्टामा ६ सय २३ परियोजनाहरु अहिले लथालिंग अवस्थामा रहेको पनि सुनाए ।

उनले भने, ‘यसरी कसरी समृद्धि हुन्छ ?’ अब देश कता जान्छ त ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘अहिले त सिस्टम नै फेल भइसक्यो । गणतन्त्र फेल भइसक्यो । संघीयता फेल भइसक्यो । लोकतन्त्रले फङ्सनिङ गरिरहेको छैन ।’

मुलुकमा यस्तो अवस्था सिर्जना भएकोले अन्तर्राष्ट्रिय गतिविधि बढ्न थालेको पनि उनले आरोप लगाए । उनले भने, ‘राजा आउने वा नआउने भन्ने कुरा भन्न सकिँदैन । तर, म एउटा कुरा भन्न सक्छु कि राजा आवश्यकताभन्दा छिटो फालिएको हो । कुनै विचार नपुरयाई फालिएको हो । संघीयता ल्याउँदा पनि कुनै होमवर्क भएको थिएन ।’