काठमाडौं, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको भावना बुझेर काम गर्नसके नेपालका कम्युनिष्टले पचासौं वर्षसम्म जित्नसक्ने बताएका छन्।
पार्टीका विविध कार्यक्रमका लागि धनगढी पुगेका प्रचण्डले बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। दुईतिहाईको सरकार नेकपाका लागि अवसर र चुनौति दुवै भएकाले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने पनि उनले बताए।
उनले भने, ‘मलाई यो आयोजना के होला कसो होला ? भन्ने लागेको थियो। गएको २० गते नै यस्तो भेला गर्ने तय भए पनि प्राविधिक कारणले सकिएन। र, हिजो म यहाँ आएदेखि धेरै कमरेडहरुका प्रतिक्रिया सुनें, त्यसअनुसार यो कार्यक्रम भव्यता र सभ्यताका साथ अघि बढिरहेको छ।’
प्रचण्डले थपे, ‘लोकतान्त्रिक गणतन्त्रको घोषण भइसकेपछि सबै जाति तथा समुदायको हक अधिकार स्थापित गर्ने संकल्प गर्दैगर्दा सुदुरपश्चिम क्षेत्रीय दृष्टिकोणले पुरानो राज्यबाट विभेदमा पारिएको क्षेत्र हो। म अहिले हिजो आन्दोलन र परिवर्तनको बेलामा सुदुर पश्चिमले योगदानलाई स्मरण गर्न चाहन्छु।’
उनले भने, ‘म गणतन्त्र मुलुकको पहिलो प्रधानमन्त्री हुँदाका बखत सुदुर पश्चिमबाट नै विश्वविद्यालय सुरु हुनुपर्छ भनेर सुदुर पश्चिम विश्वविद्यालयको खाका तयार पारी अगाडि बढाएको र अन्य ठूला ठूला परियोजना पनि यहीँबाट थालनी गरिएको कुरा स्मरण गराउन चाहन्छु। तर, ती परियोजनाहरु सञ्चालन गर्न विभिन्न प्राविधिक समस्याहरु होलान्। तर, अहिले यो दुई तिहाईसहितको बलियो सरकारले त्यस्ता समस्यालाई समाधान गर्दै व्यवस्थित ढङ्गबाट परियोजनाहरु पूरा गर्ने जानकारी गराउन चाहन्छु। अहिले हामी सबैमा एउटा नयाँ जागरण आएको छ। तसर्थ सुदुरपश्चिमले हरेक कुराको विकास निर्माणमा प्राथमिकता पाउनुपर्छ भन्ने पक्षमा पनि छु।’
प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलन गौरवशाली क्षणमा आइपुगेको बताए । उनले भने, ‘अहिले हामी नेपाली इतिहासको अत्यन्तै महत्वपूर्ण क्षणमा छौं। धेरै त्याग र बलिदानीका साथ नेपाल राजतन्त्रात्मक मुलुकबाट गणतन्त्रात्मक मुलुकमा आइपुगेका छौं। यो हाम्रा लागि एउटा युगान्तकारी परिवर्तन पनि हो।’
उनले थपे, ‘हामीले पाटी एकता गरेर विश्व कम्युनिष्ट आन्दोलनमै एउटा नयाँ पाठ सिकाउने संकल्प गरेका छौं। मैले के बुझेको छु भने हामी भनेका एक अर्कामा सङ्घर्ष गरेर जाने धारा होइनौं, हामी त मिलेर सहकार्य गर्दै एउटै धारामा अगाडि बढ्नुपर्ने पाटी हौं। र त्यही संकल्प गरेर हामी सहकार्यको स्तरसम्म आइपुग्यौं र दुइतिहाईसहितको बलियो सरकार बनायौं। हामी अब हामी केही दिनभित्रै पाटी एकतालाई अन्तिम टुङ्गोमा पुर्याउने पक्षमा रहेको जानकारी गराउन चाहन्छु।’
प्रचण्डले भने, ‘संविधान अनुसारका कानून बनेका छन्। अझै पनि प्रदेश र स्थानीय सरकार सम्बन्धमा धेरै कानूनहरु बन्ने प्रक्रियामा छन्। हाम्रो एकतापछि एकथरिलाई अब यिनीहरुले धेरै वर्षसम्म सरकार चलाउँछन् भन्ने परेकोले हाम्रो एकतालाई भाँड्न लागिपरेका छन्। हामीले राम्रो गर्यौं भने पचासौं वर्ष जनताले हामीलाई नै जिताउन सक्छन्। तर, हामीले जनताको पक्षमा काम गर्नुपर्छ। अहिले त्यही डरले एकता भाँड्न खोजिएको छ। तर, यो एकतालाई कसैले पनि भाँड्न सक्दैन। हामी पार्टी एकतालाई शक्तिशाली र सुदृढ बनाएर अघि बढ्छौं।’