महेश बस्नेत भन्छन् : ‘भ्रष्टाचारमा कांग्रेसले स्वर्णपदक जित्यो’

लाेकपाटी न्यूज

काठमाडौँ, १० फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले कांग्रेसले आफ्ना नेतालाई भ्रष्टाचारमा स्वर्ण पदक दिलाएको बताएका छन् । उनले कांग्रेसले नियुक्त गरेकाहरु भ्रष्टाचारमा डुबेकोसमेत आरोप लगाए ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशमा भ्रष्टाचारको स्वर्ण पदक दिलाउन सफल भएको बताएका हुन् । उनले कांग्रेसका पूर्वमन्त्रीहरु चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, जयप्रकाश गुप्ता, खुमबहादुर खड्का लगायतका नेताहरुलाई कांग्रेसले भ्रष्टाचारको स्वर्णपदक दिलाएको आरोप लगाए ।

सांसद बस्नेतले भ्रष्टाचारको जालो बोकेर बसेको कांग्रेसले भ्रष्टाचारविरुद्ध अभियान चलाउने कुरा भ्रष्टाचार लुकाउने घृणित प्रयास भएको टिप्पणीसमेत गरे । बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धानका पूर्वआयुक्त राजनारायण पाठक तथा कान्तिपुरका प्रधान सम्पादक नारायण वाग्लेले चुनावको समयमा कांग्रेसको झण्डा बोकी आफ्नो विरुद्धमा भोट मागी हिडेकोसमेत बताए ।

बस्नेतले अख्तियारका पूर्वआयुक्त पाठक ७८ लाख रुपौया भ्रष्टाचार तथा घुस लिएको जसको मध्यस्तता कांग्रेसकै सांसद सूर्यबहादुर केसीले गरेकोसमेत संसदमा जानकारी गराए । उनले पूर्वआयुक्त पाठक नेपाली कांग्रेसले नै पठाएको आयुक्त भएकोसमेत जानकारी गराए ।

वाइडबडी प्रकरणमा सार्वजनिक लेखा समितिले छानविन गरेका तीन जना मन्त्रीले नैतिक रुपमा जिम्मेवारी लिनुपर्ने देखाएको र त्यसमा दुईजना कांग्रेसकै मन्त्रीहरु परेकोसमेत उनले दावी गरे । उनले भने, ‘जीवनबहादुर शाहीमाथिको नैतिक प्रश्न स्पष्ट भएको छ । वाइडबडी प्रकरणका नाइके जीतेन्द्रदेव यादव हो कि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा हो ? सार्वजनिक लेखा समितिले छुट्याउनुपर्छ ।’

अहिले सदनमा विभिन्न खालका गलत हल्ला फैलाउने काम भएको बताउँदै सांसद बस्नेतले भने, ‘एकजना माननीय यूले पशुपति शर्माका गीतलाई सरकारले प्रतिबन्ध लगायो भन्नुभयो, सो गीतलाई कहिले ? कुन मितिमा ? कहाँ प्रतिबन्ध लगायो ? यस्ता गलत अफवाह फैलाउने सांसदहरुलाई संसदीयमा मर्यादामा ल्याउनु पर्दछ ।’

सदनमा अफवाह फैलाउने कार्य भएको बताउँदै उनले संसदीय मर्यादा भुलेर कतिपय माननीय सांसदहरुले निर्देशिका तथा नियमावली च्यात्नेजस्ता अराजक काम गर्नु अशोभनीय भएको बताए । त्यस्तै उनले यस्तो कार्यले संसदीय मर्यादाको अवमूल्यन भएकोसमेत बताए ।