सोमबारदेखि फेरि वर्षा हुने, यस्तो छ कारण..

पानी परेकाे
लाेकपाटी न्यूज

काठमाडौं, १० फागुन । केही दिन अघि आएको पश्चिमी वायुको प्रभावले आज दिनभरि काठमाडौं उपत्यकासहित देशका मध्य क्षेत्रमा बादल लाग्ने भएको छ । केही ठाउँमा वर्षा हुने र केही स्थानमा बदलीमात्र हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार र आइतबार राम्ररी घाम लागे पनि सोमबारदेखि फेरि बादल लाग्नेछ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘नेपालतिर आइरहेको पश्चिमी वायु अहिले अफगानिस्तान र पाकिस्तानको आकाशमा आइपुगेको छ । पश्चिम नेपालमा यसको प्रभाव सोमबारदेखि सुरू हुन्छ, यो प्रणाली बलियो भएकाले उच्च हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा वर्षा गराउनेछ ।’ पश्चिमदेखि पूर्व सर्दा त्यो पश्चिमी वायुले तीन दिन मौसममा बदली हुने उनको अनुमान छ ।

पछिल्लो समय हप्तैपिच्छेजस्तो पश्चिमी वायु आइरहेको छ । यो वर्ष आगामी सोमबारको आउने पश्चिमी वायु आठौं पटकको हो ।

‘पश्चिमी वायू प्रणाली कहिले र कसरी आउँछ भन्ने एकिन हुँदैन । यसपालि लगालग आइरहेको छ,’ महाशाखाका मौसमविद् सुवास रिमालले भने ।

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ । भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ ।

‘निकै माथि हुने भएकाले यो प्रणाली मनसुनजस्तो बलियो हुँदैन । तर यसले उच्च क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बर्षा गराउँछ,’ रिमालले भने,‘मनसुन सकिनासाथ सुरू हुने यो प्रणाली मनसुन सुरू नभइन्जेल आउन सक्छ । कुनै वर्ष धेरै आउँछ, कुनै वर्ष थोरै आउँछ । यसपालि धेरै आइरहेको छ ।’