‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल

padma aryal
लाेकपाटी न्यूज

काठमाडौं, १० फागुन । भूमि व्यवस्था, गरीबी निवारण र सहकारीमन्त्री पद्माकुमारी अर्यालले अबको महीनाभित्र काठमाडौँ उपत्यकाका मालपोत र नापी कार्यालयलाई प्रविधिको हिसाबले नमूनायुक्त कार्यालय बनाउने घोषणा गरेकी छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षत्कारमा उनले असार मसान्तभित्र काठमाडाैं उपत्यकाका सबै र अबको डेढवर्षभित्र मुलुकका १३१ वटै मालपोत कार्यालयलाई प्रविधिमैत्री बनाउने दृढता व्यक्त गरिन् । उनले भनिन्, ‘मालपोत र नापीमा देखिँदै आएको विकृति र विसङ्गति सुधार्ने भनेको प्रणालीका आधारमा हो, त्यसका लागि सेवालाई प्रविधिसँग जोडेर लैजान र ती कार्यालयलाई सुधार्न प्रयत्न भइरहेको छ, अब पुराना फाइल बोक्ने होइन, पेनड्राइभका आधारमा सेवा प्रदान हुनेछ ।’

अहिले नापी र मालपोतमा सानोदेखि ठूलासम्म जुन कारवाही भइरहेको छ, त्यो सुशासन स्थापित गर्ने सन्दर्भमा भएको बताउँदै मन्त्री अर्यालले सार्वजनिक जग्गा अतिक्रमण गर्न खोज्ने जो कोहीलाई पनि सरकारले कानूनी कारवाहीको दायरामा ल्याएरै छाड्ने अठोट व्यक्त गरिन् ।

भूमिको सही उपयोग गरी उत्पादन बढाउने र गरीबी घटाउने योजनाका साथ सरकारले निकट भविष्यमै ऐन पारित गरेर कार्यान्वयनमा जोड दिने जानकारी दिँदै मन्त्री अर्यालले यसले किसानलाई प्रोत्साहन गर्ने तथा गुठीको संरक्षणलाई प्राथमिकता दिने बताइन् ।

मुक्तकमैया र हलियाका समस्या यसै आर्थिक वर्षभित्र सम्बोधन गर्न तथा गरीब घरपरिवारको पहिचान गरी प्रमाणपत्र उपलब्ध गराउने सरकारको प्राथमिकता रहेको उनले बताइन् ।