सांस्कृतिक सम्पदा संरक्षणमा अष्ट्रियाकाे सहयोग

sas01
लाेकपाटी न्यूज

काठमाडौं, १० फागुन । अष्ट्रियाले नेपालका सांस्कृतिक सम्पदा संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएकी उक्त देशकी विदेशमन्त्री करिन कनिसलले नेपाल र अष्ट्रियाबीच आज अपराह्न राजधानीमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तापछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै त्यस्तो घोषणा गरेकी हुन् । सम्पदा संरक्षणका निम्ति नेपालीलाई प्रशिक्षणमा सघाउनका साथै तत्काल एकलाख २० हजार युरो ललितपुर दरबार क्षेत्रका सम्पदा जोगाउन उपलब्ध गराइने उनले बताइन् ।

भूकम्पपछिको पुनःनिर्माण तथा भौतिक पूर्वाधार निर्माणमा पनि सघाउन आफ्नो मुलुक उत्सुक रहेको बताउँदै ऊर्जा उत्पादनका क्षेत्रमा लगानी तथा पर्यटन प्रवद्र्धनमा सघाउने अष्ट्रियाली चाहना पनि उनले सुनाएकी छन् ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा नेपालले गरेको योगदानलाई अतुलनीय भन्दै नेपालसँगै अष्ट्रिया पनि बहुपक्षीयवादको प्रवद्र्धनमा विश्वस्त रहेको उनले बताइन् ।

नेपाल सरकारका विकासका प्राथमिकता, ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणाई साकार तुल्याउने, संयुक्त राष्ट्रसङ्घमा अष्ट्रियासँग साझेदारी, आगामी चैतमा नेपालमा आयोजना हुने लगानी सम्मेलनमा अष्ट्रियाको सक्रिय सहभागिताका निम्ति आफूले अनुरोध गरेको पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

उनले व्यापार, लगानी, प्रविधि हस्तान्तरण, दिगो विकास, वातावरण संरक्षण, स्वच्छ ऊर्जा, प्रतिआतङ्कवादलगायत विषयमा विचार विमर्श हुनका साथै द्विपक्षीय एवम् बहुपक्षीय तहमा साझेदारी एवं सहकार्य गर्ने सहमति भएकोे बताए । बहुपक्षीय मञ्चका साथै अति कम विकसिक देशका मामिलामा अष्ट्रियाले निर्वाह गरेको भूमिकाको सराहना गर्दै मन्त्री ज्ञवालीले युरोपेली सङ्घको महत्वपूर्ण राष्ट्र अष्ट्रियासँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताए ।

दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गर्नुभएको वार्तामा अर्थ, गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्