आज प्रधानमन्त्री ओलीको जन्मदिन, यस्तो छ संक्षिप्त जीवनी

kp sharma oli
लाेकपाटी न्यूज

मनहरि तिमिल्सिना/काठमाडौं। आज नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको ६८ औं जन्मदिन। ओली नेपालका शक्तिशाली कम्युनिष्ट प्रधानमन्त्री हुन्। २०७४ मंसीरमा भएको सङ्घीय निर्वाचनमा वाम गठबन्धनले करीब दुईतिहाई मत प्राप्त गरेको थियो।

२०१५ सालको आम निर्वाचनपछि उनी पहिलोपटक दुईतिहाई बहुमतको शक्तिशाली प्रधानमन्त्री बनेका हुन्। को हुन् प्रधानमन्त्री केपी शर्मा ओली ? कस्तो छ उनको राजनीतिक यात्रा ? १४ वर्ष लामो जेल जीवन र कष्टकर यातना सामना गरेका नेता हुन्। यस्तो छ प्रधानमन्त्री केपी शर्मा ओलीको संक्षिप्त जीवनी।

प्रधानमन्त्री केपी शर्मा ओलीको वास्तविक नाम खड्गप्रसाद ओली हो। उनको जन्म वि.सं. २००८ फागुन ११ गते, तदनुसार सन् १९५२ फेब्रुअरी २३, तारिखका दिन इवा २, तेह्रथुममा भएको थियो। प्रधानमन्त्री ओली पिता मोहनप्रसाद र दिवङ्गत माता मधु ओलीका सुपुत्र हुन्। प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य उनको राजनीतिक यात्राको अविचलित सारथी हुन्।

शरणामती– ६, झापामा अस्थायी बसोबास भएका प्रधानमन्त्री ओली भक्तपुरको बालकोटका स्थायी बासिन्दा हुन्। नेपाली, हिन्दी र अङ्ग्रेजीमा राम्रो दख्खल राख्ने ओली संस्कृत भाषाका समेत जानकार हुन्। उनले चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्वीडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुस आदि देशको भ्रमण गरेका छन्।

प्रधानमन्त्री ओलीले २०२३ सालमा मार्क्सवादी अध्ययन दलमा संगठित भएर आफ्नो राजनीतिक यात्राको प्रारम्भ गरे। २०२५ सालमा पूर्णकालीन राजनीतिक कार्यकर्ताको रुपमा गतिविधिमा संलग्न ओलीले २०२६ सालको माघमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए। उनले २०२७ सालबाट पूर्णकालीन नेताको रुपमा आन्दोलन परिचालनका लागि भूमिगत जीवन शुरु गरेका थिए।

२०२७ साल फागुन १६ गतेका दिन प्रधानमन्त्री ओली झापामा पहिलोपटक गिरफ्तार भएका थिए। २०३० सालसम्म उनलाई तात्कालीन पञ्चायती सरकारले १० पटक गिरफ्तार र रिहा गरेको थिए। २०२८ सालमा ओली झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित भएका थिए। २०३० असोज २३ गते ओली राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न झुठ्ठा आरोपमा गिरफ्तार भए र ४ वर्ष गोलघरसहित १४ वर्ष जेल जीवन बिताए। १४ वर्ष लामो जेल जीवनका क्रममा उनलाई निर्मम यातना दिइएको थियो।

ओली जेलमै रहँदा २०३५ पुस ११ गते गठित नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) को संस्थापक नेताको हैसियत प्राप्त गरेका थिए। २०४४ साल असार ११ गते ओली जेलबाट रिहा भए। त्यसलगत्तै २०४४ पुस २ गते बसेको नेकपा (मा–ले) को केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन गरियो। २०४६ मा उनलाई तत्कालीन नेकपा (माले) को लुम्बिनी अञ्चलको ईञ्चार्जको जिम्मेवारी दिइयो। पञ्चायतविरोधी आन्दोलनमा उनले नेतृत्वदायी भूमिका खेलेका थिए।

२०४७ जेठ १ गते ओली पार्टीको युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्षमा निर्वाचित भए । वि.सं. २०४७ पुस २२ (नेकपा (मा–ले) र नेकपा (मार्क्सवादी) बीच पार्टी एकता भयो। एकीकृत नेकपा (एमाले) को उनी संस्थापक केन्द्रीय सदस्यमा मनोनित भए। २०४८ सालमा बहुदलीय व्यवस्था स्थापनापछिको पहिलो आम निर्वाचनमा ओली झापा–६ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भए।

२०५० सालमा उनी केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारीसहित पोेलिटव्युरो सदस्यमा निर्वाचित भए। २०५१ सालको मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभामा पुननिर्वाचित भए। २०५१ मंसीर १४ गते कम्युनिष्ट पार्टीको नेतृत्व र मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा गठित पहिलो वामपन्थी सरकारमा ओलीले गृहमन्त्रीको जिम्मेवारी प्राप्त गरे।

२०५१ सालमा उनी पार्टी संसदीय विभागको प्रमुखमा नियुक्त भए। २०५४ सालको माघमा सम्पन्न पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत कार्यनीतिक प्रस्ताव अत्यधिक मतद्वारा पारित भयो। त्यसपछि ओली स्थायी समिति सदस्यमा निर्वाचित हुनुका साथै विदेश विभाग प्रमुखको जिम्मेवारी प्राप्त गरे। २०५६ सालको आम निर्वाचनमा ओली झापा–६ बाट प्रतिनिधिसभामा पुन निर्वाचित भए। २०५६–२०५९ को अवधिमा उनी संसदमा प्रमुख प्रतिपक्षी दलको उपनेताको भूमिकामा रहे।

२०५९ माघमा सम्पन्न पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणाली शुरु गर्ने प्रस्ताव प्रस्तुत गरे। प्रस्ताव अर्को महाधिवेशनसम्मको लागि स्थगित भयो। उक्त महाधिवेशनमा ओली स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुननिर्वाचित भए। २०६२/०६३ सालको जनआन्दोलनपछि गीरिजाप्रसाद कोइरालाको नेतृत्वमा पुनर्स्थापित संसदद्वारा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमा ओली नियुक्त भए।

२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा ओली पराजित हुन पुगे। तर, पार्टीको आन्तरिक जीवनमा उनी सधैं प्रभावशाली भूमिकामा रहे। २०६५/०६६ को अवधिमा ओली केन्द्रीय पार्टी स्कूल विभाग प्रमुखका रुपमा क्रियाशील रहे। २०६५ फागुनमा सम्पन्न नेकपा (एमाले) को आठौं राष्ट्रिय महाधिवेशनले आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्वीकृत गर्‍यो। उनी अध्यक्ष पदको प्रत्यासी रहे। तर, अध्यक्षमा झलनाथ खनाल विजयी भए। त्यसपछि उनी विदेश विभागको प्रमुखको जिम्मेवारीसहित स्थायी समितिमा निर्वाचितमा भए।

२०७० मंसीरको दोस्रो संविधान सभामा उनी झापा–७ बाट निर्वाचित भए। २०७० माघ २१ मा उनी तत्कालिन पार्टी अध्यक्षलाई पराजित गर्दै संविधानसभा तथा व्यवस्थापिका संसदको दलका नेतामा निर्वाचित भए। २०७१ साउन १ मा नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट तत्कालिन बरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्ष पदमा निर्वाचित भए।

२०७२ असोज २४ गते व्यवस्थापिक संसदबाट उनी प्रधानमन्त्री पदमा निर्वाचित भए। उनको कार्यकालमा भारतले जारी संविधानप्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी लगायो। ओली नेतृत्वको तात्कालीन बाम सरकारले नाकाबन्दीको डटेर सामना गर्‍यो। २०७३ साउन ९ गते व्यवस्थापिका–संसदमा सम्बोधन गर्दै उनले प्रधानमन्त्री पदबाट राजीनामा दिए । ओलीको पहिलो प्रधानमन्त्री कालले उनलाई राष्ट्रवादी नेताका रुपमा स्थापित गर्‍यो।

२०७४ साल मंसीर २१ को प्रतिनिधि सभा निर्वाचनमा उनी झापा–५ बाट अत्यधिक मतका साथ निर्वाचित भए। नेपालमा पहिलोपल्ट वामपन्थीहरुले झण्डै २ तिहाई मत प्राप्त गरेका थिए। २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले नेपालको ४१ औँ प्रधानमन्त्रीको रूपमा सपथ लिए। २०७४ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता, सम्पन्न भयो। हाल उनी नेपाल सरकारको प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष छन्।

प्रधानमन्त्री केपी शर्मा ओली प्रष्ट र प्रखर वक्ता मानिन्छन्। नेपाली भाषा साहित्य, राजनीति, कुटनीति र संगठनमा दख्खल राख्ने ओली खरो स्वाभावका छन्। उनी आफूलाई लागेको कुरा प्रष्टसँग राख्छन् र अडिन्छन्। अनौपचारिक ज्ञानका दृष्टिले पनि ओली अब्बल छन्। हरेक विषयमा विषयगत दक्षता र रुचि राख्ने उनको स्वाभावको धेरैले प्रशंसा गर्छन्। वामपन्थी सरकारका प्रधानमन्त्री ओलीको दोस्रो कार्यकाल देशको समृद्धि र विकासका लागि फलदायी हुन् सकोस्, हाम्रो पनि जन्मदिनको हार्दिक शुभकामना।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्