कृषि र शिक्षामा नाम मात्रको बजेट छ : प्रचण्ड

Prachanda
फाइल तस्वीर
लाेकपाटी न्यूज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि र शिक्षामा नाम मात्रको बजेट भएको बताएका छन्। उनले आत्मनिर्भर अर्थतन्त्रका लागि शिक्षा र कृषिमा बजेट बढाउनुपर्नेमा जोड दिए ।

युवाहरू खाडी मुलुक जान तछाडमछाड गरेको तर आफ्नै देशमा कृषिजन्य उत्पादन वृद्धिका लागि ध्यान नदिएको उनले बताए। समूह, सहकारी तथा निजीस्तरबाट पनि कृषिजन्य वस्तु उत्पादन गर्नसके उत्पादन बढ्न सक्ने बताउँदै उनले रोजगारीका अवसर पनि सिर्जना हुने बताए।

‘कहिलेकाहीँ त परिस्थिति हेरेर बडो दिक्क लाग्छ। सबै छाडेर म आफैं खेती गर्न हिँडौं जस्तो नि लाग्छ,’ भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘कृषि र शिक्षामा नाममात्रैको बजेट छ। त्यो बजेट कता जान्छ कता।’ खाडी मुलुक गएर नेपालीहरूले धेरै दुख गरेको उनले बताए।

‘बाहिर गएर गर्ने धेरै दुखको केही प्रतिशत दुख आफ्नै माटोमा टेकेर त्यहाँ विविधता ल्याउन जाँगर देखाउने हो भने केही वर्षमा यो देश आत्मनिर्भर हुन्छ,’ प्रचण्डले भने, ‘सोच परिवर्तन गरौं।’ कृषिमा आधुनिकीकरणबाट मात्रै देश समृद्ध हुने उनले बताए।

‘ठूला कुरा त हामीले गर्दै आएको हो। सानो कुरा के हो भने उत्पादन वृद्धि गर्न विज्ञान प्रविधिको प्रयोग गर्नुपर्छ,’ उनले भने। शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न राज्यले नेतृत्व लिनुपर्ने उनले बताए।

‘सुनको टुक्रा हामीसँग छ। सोचमा परिवर्तन ल्याउन जरूरी छ। जनतालाई दोष दिएर हुन्न। नेतृत्व राज्यले नै लिनुपर्छ। जनताले मेहेनत गरेकै छ, श्रम गरेकै छ,’ अध्यक्ष प्रचण्डले भने। उत्पादन बढाउन रसायनिक मल र विषादी प्रयोग गरेर स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिएको भन्दै प्रचण्डले अर्गानिक खेती गर्न किसानलाई आग्रह गरे।

कृषि र शिक्षा क्षेत्रमा राज्यले अनुदान दिनुपर्ने भए पनि ध्यान नपुगेको उनले बताए। ‘कृषि र शिक्षामा अनुदान बढाउनुपर्छ। भारतले पनि पछिल्लो समय अनुदान बढाएर राम्रो गरेको छ,’ उनले भने।