वार्ताका लागि किम भियतनाम प्रस्थान

किम
लाेकपाटी न्यूज

उत्तर कोरिया, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने दोस्रो शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम हिँडेका छन्। उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले नेता किम रेलमा चढेर होनाई जान लागेका हुन् ।

किमसँगै उनकी बहिनी किम यो जोङ, विदेश मन्त्री री योङ हो र आणवीकसम्बन्धी बरिष्ठ अधिकारी किम योङ चोल पनि रेलमा सभार रहेका छन्।

भियतनामको राजधानी होनाई पुग्न किमलाई ६० घन्टा लाग्ने बताइएको छ । किमको रेलले शनिबार नै चिनियाँ सीमा पार गरेको स्रोतले बताएको छ ।

फेब्रुअरी २७ र २८ ट्रम्प र किमबीच दोस्रो शिखर वार्ता हुँदैछ । यसअघि गत जुनमा यी दुई नेताबीच सिंगापुरमा पहिलो शिखर वार्ता भएको थियो।

पहिलो शिखर वार्ताका लागि हवाइजहाजबाट सिंगापुर आएका किमले होनाई जान रेल रोजेका हुन्।

यसअघि उनी दुई पटक रेलमा चीनको बेइजिङ आइसकेका छन्। किमका बुवा र हजुरबुवाले पनि विदेश भ्रमण गर्दा रेलकै प्रयोग गर्ने गरेको जानकारी आएको छ ।

संसारभरिका नेता समय र सुविधाका कारण हवाइजहाज र हेलिकोप्टरमार्फत् यात्रा गरिरहेका बेला किम किन यातायातको पूरानो साधनमा यात्रा गर्छन् ? के उनको रेल विशेष छ ?

अमेरिकी समाचार पत्र न्यूयोर्क टाइम्सकाअनुसार किमको शासनजस्तै रेलको चलन पनि हजुरबुवाबाट बुवा हुँदै उनीसम्म आइपुगेको हो ।

उत्तर कोरियामा शासन गर्ने किम तेस्रो पुस्ताका नेता हुन्। सन् १९५० को दशकमा दुई कोरिया छुट्टिएपछि उनका हजुरबुबा किम इल सङ शासक बनेका थिए । उनै सङले रेलबाट विदेश जाने चलन ल्याएका हुन्। सन् १९८४मा सङ रेलमै पूर्वी युरोप गएका थिए।

त्यसलाई उनका छोरा किम जोङ इलले पनि निरन्तरता दिए । इलको सन् २०११ मा रेल यात्राकै क्रममा हृदयघात भएर निधन भएको बताइन्छ ।

तेस्रो पुस्ताका उनले पनि आफ्नो पहिलो विदेश भ्रमण रेलबाटै गरे ।

इललाई हवाइजहाज यात्रा मन पर्दैनथ्यो । उनी हवाइ यात्रा गर्न डराउँथे । सन् २००२ मा उनी तीन हप्ता लामो रूस यात्रामा गएका थिए ।

रेलबाट इलले झन्डै दर्जन विदेश भ्रमण गरेका थिए । तीमध्ये धेरै पटक उनी चीन आएका थिए । रेलमा संसारका सबैभन्दा महंगा वाइन राखिएको हुन्छ । यहीभित्र बार्बिक्यू पनि गर्न मिल्छ ।

मार्चमा बेइजिङ आएको किमका रेलमा २१ डब्बा थिए । ती सबै हरिया रङका थिए । सबैका झ्यालमा कालो सिसा थियो ताकि बाहिरबाट भित्र को बसेको छ भन्ने कसैले नचिनून्।

सन् २००९ मा दक्षिण कोरियाका सञ्चारमाध्यमले सार्वजनिक गरेको समाचारअनुसार किमको सुरक्षामा ९० डब्बा हुन्थे ।

इल कुनै यात्रामा निस्कँदा एकैपटक तीन रेल दौडन्थे । त्यसमध्ये पहिलोमा सुरक्षा दस्ता हुन्थ्यो । जसले अघिल्लो स्टेशनको सुरक्षा चेक जाँच गथ्र्यो । दोस्रो रेलमा इल हुन्थे । तेस्रोमा थप सुरक्षाकर्मी र अन्य सामग्री हुन्थे ।

रेलका हरेक डब्बा बुलेट प्रुफ हुन्छन्। सामान्य रेलको तुलना धेरै तौल हुने भएकाले यसको गति कम हुन्छ । यो रेल प्रतिघन्टा ३७ माइलसम्म कुद्छ ।

यही रेलका लागि उत्तर कोरियामा २० वटा छुट्टै स्टेशन बनाइएको छ ।

सन् २०१५ मा किम जोङ उन एक टेबलमा बसेको तस्बिर सार्वजनिक भएको थियो। रेलको त्यो डिब्बा कन्फ्रेन्स हलजस्तो देखिन्थ्यो ।

सन् २०११ मा उनका बुवा पनि यस्तै गरी बसेको भिडियो सार्वजनिक भएको थियो ।

इल चढेको रेलको अफिसका लागि प्रयोग गरिने डिब्बालाई अहिले टेबल र कम्युटरसहित प्योङयाङस्थित एक संग्रहालयमा राखिएको छ ।

सन् २०११ मा इलसँगै यात्रा गरेका रूसी अधिकारी कोन्स्टान्टिन पुलिकोभ्की ११ ले रेलमा रसियन, कोरियन, चाइनिज, जापानिज र फ्रेन्च खाना पाइने उल्लेख गरेका छन्।

अल्छी लागेमा इललाई मनोरञ्जन दिने महिलाहरू पनि रेलमै हुन्थे । तिनीहरूलाई लेडी कन्डक्टर भनिन्थ्यो ।उनले आफ्ना बुवाजस्तै लेडी कन्डक्टर रेलमा राख्छन् कि राख्दैनन् भन्नेचाहिँ खुलेको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्