‘सूर्ति खाने मान्छे अन्तिममा लागूऔषधकै कूलतमा फस्छ’

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सरलगायत नसर्ने रोगहरुबाट प्रभावित भएको कुरा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले बताएका छन् ।

आइतबार राजधानीस्थित बसुन्धाराको हेराल्ड कलेजमा क्यान्सर काउन्सिल नेपालको आयोजना र ग्लोबल आएमई बैंकको सहकार्यमा सञ्चालित उक्त जनचेतना तथा अन्तरक्रियामा प्रायजसो क्यान्सरका विरामीहरु गम्भिर अवस्थामा उपचारका लागि अस्पतालमा आइपुग्ने गरेको जसले गर्दा उपचार खर्च बढी हुने र उपचारको प्रभावकारिता पनि कम हुने कुरा उनले सुनाए ।

क्यान्सरलगायत नसर्ने रोगहरु नियन्त्रणको लागि नागरिक स्तरबाटै सचेत रहनुपर्ने कुरा डा. पौडेलले जनाए । “८० प्रतिशत नसर्ने रोगको कारण सूर्तीजन्य पदार्थ भएकोले सूर्तीजन्य पदार्थ रोकथामका लागि विद्यालयस्तरबाटै बालबालिकाहरुलाई सचेत गराउनुपर्छ’ डा. पौडेलले थपे ।

विकसित देशहरुमा जनचेतनाको कारण सूर्तीजन्य पदार्थको उपभोगमा कमी हुनुको साथै क्यान्सरलगायत मुटु रोगबाट निधन हुने मानिसको संख्यामा कमी आएको पनि उनले सुनाए । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले नयाँ पुस्तालाई सूर्तीजन्य पदार्थबाट जोगाउनको लागि अभिभावकहरुले आफ्ना बालबालिकाबारे उचित ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

विद्यालय उमेर समूहका विद्यार्थीहरु नकारात्मक क्रियाकलापबाट छिट्टै प्रभावित हुने भएकोले शिक्षिक र अभिभावकले सूर्तिजन्य पदार्थ रोकथामका लागि बालबालिकालाई राम्रोसँग निर्देशन गर्नुपर्ने कुरा उनले बताए ।

विद्यार्थीहरुले सुरुमा सूर्ति सेवन गरेता पनि कालान्तरमा लागूपदार्थ सेवन गर्ने कुरा विभिन्न अध्ययनले देखाएको पनि उनले सुनाए । उनले भने, ‘युवा पुस्ता नै यसरी कुलत तथा लागूपदार्थको दुव्र्यसनीमा लाग्दा समाजमा अपराधजन्य क्रियाकलाप पनि बढ्ने खतरा हुन्छ।’

त्यस्तै कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले बदलिँदो परिस्थितिमा बढ्दो प्रविधिको प्रयोगसँगै नयाँखाले अपराध पनि बढ्दै गएको सुनाए । उनले प्रविधिजन्य अपराध रोकथामका लागि सहभागीहरुलाई सचेत गराएका थिए ।

‘साइबर–क्राइम’ सम्बन्धि पर्याप्त ज्ञान नभएर अहिलेका युवा पुस्ताहरु अनजानमै विद्युतीय अपराधमा फसेको पनि उनले सुनाए । उनले भने, ‘त्यसैले सामाजिक सञ्जाल चलाउँदा पनि हामी सचेत हुनुपर्छ ।’

कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रतिनिधि सागर बहादुर सिँहले वित्तीय साक्षरताको बारेमा जानकारी दिँदै यस बैंकको सामाजिक उत्तरदायित्वअनुसार सूर्तिजन्य पदार्थ रोकथामका लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको सुनाए ।

हेराल्ड इन्टरनेश्नल कलेजका प्रिन्सिपल नारायण प्रसाद उपाध्यायले क्यान्सर काउन्सिल नेपालले सूर्तिजन्य पदार्थ रोकथामका लागि चलाएको अभियानको प्रशंसा गर्दै उक्त कलेजको तर्फबाट यस अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

काउन्सिलका अध्यक्ष कडरियाँकाअनुसार कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, अभिभावक र अन्य कर्मचारी गरी ५५० भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्