रोल्पा, १३ फागुन । रोल्पाका सांसद तथा वर्तमान सरकारका ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन यतिबेला रोल्पामा आर्थिक उपार्जन कसरी बढाउने भन्नेमा केन्द्रित छन् । रोल्पामा व्यस्त पुन जिल्लाका कसरी आर्थिक उपार्जन बढाउने र जलजला पहाडलाई कसरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भन्नेमा केन्द्रित रहेको पाइएको छ ।
संघीय संसदमा आफू निर्वाचित भएको जिल्ला रोल्पा जनयुद्धको थालनी तथा उद्गम स्थल भएको ठाउँ पनि हो । तसर्थ आर्थिक समृद्धिको पहिलो उद्गम थलो र आधार पनि रोल्पालाई नै बनाउनु पर्छ भन्ने उनको मान्यता छ । रोल्पामा हुने हरेक कार्यक्रममा उनले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारा दोहोर्याउँदै रोल्पालाई यो अभियानमा कसरी जोड्न सकिन्छ भनेर विमर्श गरिरहेका हुन्छन् ।
आईतबार रोल्पाको सदरमुकाम लिवाङमा मन्त्री पुन ६ कार्यक्रममा सहभागी भए । जस मध्ये ४ कार्यक्रम रोल्पाको आर्थिक समृद्धि र जलजला पहाडलाई पर्यटकीय गन्तव्य बनाउने विषयमा मात्रै केन्द्रित थिए । रोल्पा आएपछि खाना, खाजाको समेत बेवास्ता गरेर सकेसम्म सवै निम्तो भ्याउने गरेका पुनले आईतबार आफूले हरेक दिनको ३ बजे सेवन गर्दै आएको नियमित औषधी समेत खान बिर्सिएको उनि निकट श्रोतले बताएको छ ।
पहिलो कार्यक्रम
जलजलामा पुग्ने पर्यटकका लागि गाइड तालिम आईतबार उनी सहभागि भएको पहिलो कार्यक्रम थियो, प्रकृति संरक्षण कोषले आयोजना गरेको पर्यटक गाइडको काम गर्ने युवाहरुका लागि दिइएको तालिम उद्घाटनका लागि जिल्ला समन्वय समिति रोल्पाले निम्तो दिएको सो कार्यक्रममा मन्त्री पुन पुगे । अघिल्लो दिनको कार्यक्रमका कारण मध्यराति लिवाङ पुगेका उनी एकाविहानै कार्यक्रममा सहभागि भएर जलजलामा कसरी पर्यटक भित्र्याउन सकिन्छ ? पर्यटन व्यवसायलाई कसरी आम नागरिकको आर्थिक उपार्जनसँग जोड्न सकिन्छ ? यसमा रोल्पाका नागरिकहरुको भूमिका के हुन्छ भन्ने धारणा राखे ।
दोश्रो कार्यक्रम
जलजलामा पुग्ने पर्यटकका लागि होटलको व्यवस्थासम्बन्धी कार्यक्रमको लागि विहान साँढे ९ बज्दा उनी लिवाङको मुख्य बजारमा रहेको जिल्ला विकास समितिको हलमा पुगे । रोल्पाका अगुवा होटल व्यवसायीका अघि उनले १ घण्टा बिताए । ‘सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष संघीय सरकारले राखेको छ । पर्यटकका लागि निर्धारण गरिएका १०० गन्तव्यमध्ये रोल्पाको जलजला पनि एक हो । जलजलामा आउने पर्यटकहरुका लागि अर्गानिक खाना, सुविधा सम्पन्न बसाइको व्यवस्था कसरी गर्नुहुन्छ ? रोल्पालाई कसरी ब्राण्डीङ गर्नुहुन्छ ?’ उनको प्रश्न थियो ।
यही वर्ष कम्तिमा २ सय पर्यटक जलजला क्षेत्रमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै उनले होटल व्यवसायीलाई समेत सोहीअनुसारको तयारी गर्न आग्रह गरे । उनले कुनै राजनीतिक भाषण गरेनन् ।
तेश्रो कार्यक्रम
होटल व्यवसायीसँगको अन्तरक्रिया पछि मन्त्री पुन कृषि तथा पशुपालन व्यवसायमा लगानीसम्बन्धी कार्यक्रममा सहभागी हुन पुगे । जिल्ला समन्वय समितिको हलमा भएको सो कार्यक्रममा उनले कुषि तथा पशुपालन व्यवसायमा लगानीको संभावना र अवसरका बारेमा बोलेका थिए । उनले कुनै जिल्लाले स्याउ, कुनैले अलैची, कुनैले धान, कुनैले चिया, कुनैले अदुवा लगायतका उत्पादन गरेर आफूलाई ब्राण्डिङ गरिरहेको बताउँदै रोल्पा जिल्लाको ब्राण्ड उत्पादन के लाई बनाउने ? भन्ने विषयमा उनले मन्तव्य केन्द्रित गरे ।
उत्पादनलाई पर्यटन र आर्थिक उपार्जनसँग जोड्नका लागि आधुनिक कृषि तथा पशुपालनको पद्धतिमा जानुपर्नेमा उनको जोड थियो । संघीय सरकारको मन्त्रीको हिसाबले यसका लागि गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता उनले सुनाए । कृषि र पशुपालनको उपार्जनले जलजलामा पुग्ने पर्यटकहरुका लागि रोल्पामै उत्पादित खाद्यान्न खुवाउने तयारी गर्न उनले आग्रह पनि गरे ।
चौथो कार्यक्रम
युवा स्वरोजगार कार्यक्रम मन्त्री पुनको आईतबारको चौथो कार्यक्रम थियो । रोल्पा नगरपालिकाद्वारा संचालित युवा स्वरोजगार कार्यक्रमको उद्घाटन कार्यक्रममा उनी मध्यान्न १२ बज्नै लाग्दा खानासमेत नखाइकन पुगेका थिए । उनले त्यहाँ जिल्लाभरीबाट भेला भएका स्वरोजगारका लागि उपस्थित युवाहरु माझ रोल्पाको समृद्धि, जलजलालाई पर्यटकीय गन्तव्य बनाउने, रोल्पा जिल्लालाई ब्राण्डिङ गर्ने र त्यही ब्राण्ड बेचेर स्वरोजगार हुने आर्थिक समृद्धिका आफ्नै ‘थ्योरी’ सुनाए ।
युवाहरुको यो समूहमा पनि मन्त्री पुनले नेपाली राजनीतिका विभिन्न पाटा, पक्षबारे चर्चा गरेनन् । केवल आर्थिक समृद्धिका लागि रोल्पा जिल्लालाई कसरी अघि बढाउने भन्ने विषयमा मात्रै सबैलाई घोत्लिन प्रेरित गरे ।
पाँचौ कार्यक्रम
बाल कल्याण नमुना मा.वि आइतबारको उनको पाचाँै कार्यक्रम भने आफैं पढेको स्कुलसँग सम्बन्धित थियो । बाल कल्याण नमुना मा.विले आयोजना गरेको पूर्व विद्यार्थी मंचको पहिलो अधिवेशनमा प्रमुख अतिथि बनेका पुनले पूर्वविद्यार्थी सञ्चय कोषका लागि ५ लाख सहयोगको घोषणा गरे । स्कुल भवनको शिलान्यास गर्दै उनले नयाँ भवन निर्माणका लागि आफूले २ करोड बराबरको सहयोग जुटाउन पहल गर्ने घोषणासमेत गरे । उनले विद्यार्थीहरुका माझ आफ्नो बाल्यकालमा जुत्ता नपाइने, कट्टु लगाएर स्कुल गएको मात्रै अनुभव सुनाएनन् सूचना प्रविधिको विकासले अहिलेका विद्यार्थीहरुले अमेरिका बेलायत वा जुनसुकै देशका शिक्षकहरुसँग भिडियो मार्फत चाहेको विषय पढ्न र सिक्न सक्ने अवस्था आएकाले पढाईमा मेहनत गर्न आग्रह पनि गरे ।
कार्यक्रमका दौरान नेपाली काँग्रेसका नेता कृष्ण घर्तीले राजनीतिक विषय उठाएका थिए । उनले पशुपति शर्माको गीतको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाएको आरोप लगाए । त्यस विषयमा बोलेका मन्त्री पुनले नेपाली समाजको चरित्रको चर्चा गर्दै अरुका कुरा काटेर समय बिताउनु भन्दा सबैले आफ्नै काममा ध्यान दिए देश बन्ने बताए ।
छैटौं कार्यक्रम
उनको आइतबारको अन्तिम कार्यक्रम लिवाङमा आयोजित लोक दोहोरी प्रतियोगितामा सहभागि हुने थियो । नेपालको लोक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा केही समय बसेका मन्त्री पुन साँझ झण्डै ७ बजे काठमाडौंका लागि बुटवलतर्फ प्रस्थान गरेका थिए ।
कुनैबेला मन्त्री पुन रोल्पा जिल्लाबाट जनयुद्धको सन्देश विश्वभरी फैलाउन शसस्त्र युद्धका रणनीति र कार्यनीति बनाउन व्यस्त हुन्थे । त्यसपछि शान्तिपूर्ण राजनीतिमा राजनीतिक भाषण दिदै संविधानमा नागरिकका अधिकार प्राप्तीका विषयमा केन्द्रित भए । तर, पछिल्ला दिनमा उनका प्राथामिकता फेरिएका छन् । उनका हरेक छलफलहरु देशको र रोल्पाको आर्थिक समृद्धिसँग मात्रै केन्द्रित हुने गरेका छन् । आईतबारका कुनै पनि कार्यक्रममा राजनीतिक भाषणबाजी नगरेर आर्थिक विषयमा मात्रै केन्द्रित हुनुले उनको वर्तमान प्राथामिकता प्रष्ट पारेको थियो ।