मेरा हाँसोहरू
निदाएका छन् अचेल
आँसुहरू बिसाएका छन्
थाकेर धाक्रेले धाक्रो बिसाए झैं ।
उर्लदैंन अचेल
आँसु पनि उन्मत्त भएर
बर्खेको भेल झैं
कसैको भावनाको
अन्त्येष्टि हुँदा पनि ।
बन डढेको सबैले देख्छ
तर मन डढेको
कसैले न देख्दो रहेछ ।
त्यसैले होला
अचेल मेरा परेलीहरू रुष्ठ छन्
अधरहरू पनि उदास छन्
नयनहरू सुकेका छन् रानी पोखरी झैं
खुसीहरूको उद्यानमा फकृन छाडे
अचेल मुस्कानका मुनाका कोपिलाहरू ।
केवल सुकिरहेछ
अँगेनाको बिस्कुन झैं
मेरा खुसीका बगरहरू निराशाका खडेरीमा
केवल एकोहोरो पर्खाइ छ
भार्याले खसमको प्रतिक्षा गरे झैं
मधुमासको झरी बनी कहिले रुझाउला
मेरा ती सुकेका खुसीका बगरहरू ।
✍️राजबाबु श्रेष्ठ ‘सागर’
महोत्तरी, गौशाला न. पा. वडा न. १