पोखरा। शहिद सप्ताहका सन्दर्भमा जनयुद्ध र देशका विभिन्न कालखण्डमा आफ्नो ज्यान गुमाउने सम्पूर्ण शहिदहरूको सम्झनामा अखिल क्रान्तिकारी कास्की र अनेरास्ववियु कास्कीले पोखरा–१४ अवस्थित शहिद स्मृति आवासीय माविमा फलफूल वितरण गरेको छ।
उक्त विद्यालयमा १० वर्षे जनयुद्धमा शहादत प्राप्त शहिदका छोराछोरी मात्र अध्ययन गर्छन्। वि.सं. २०५२ साल फाल्गुन १४ गते तत्कालीन शाही सेनावाट जनयुद्धका प्रथम शहिद दिलवहादुर रम्तेलको निर्मम हत्या गरेको दिनलाई आधार मानी फाल्गुन १४ देखि एक हप्ता शहिद सप्ताह मनाउने गरिन्छ। यसै दिनमा अखिल क्रान्तिकारी र अनेरास्ववियु फलफूल बितरण गरेको हो।
कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश सदस्य गंगा पोखरेलले बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीलाई जनयुद्ध र नेपालको राजनीतिक क्रान्तिबारे ज्ञान दिने बताए। कार्यक्रममा बोल्दै पोखरेलले एकीकृत पार्टी नेकपाले जनयुद्धको स्वामित्व ग्रहण गरेको बताए। पोखरेलले जनयुद्धबारे पार्टीमा एउटै दृष्टिकोण रहेकाले भ्रममा नपर्न पनि सबैमा आग्रह गरे।
त्यसैगरि प्रदेश समितिका नेताहरु तेजकुमारी पौडेल र तेजनारायण अधिकारीले जनयुद्धको मर्म र उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए। अखिल क्रान्तिकारी कास्की जिल्ला समितिका उपाध्यक्ष एवं उक्त कार्यक्रम संयोजक भगवान बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक मोना गिरी, विद्यालयका शिक्षक सचिन सुवेदी, अनेरास्ववियुका केन्द्रीय सदस्य सुजन लामा, अनेरास्ववियु जिल्ला अध्यक्ष शेखर गौतम लगायतले बोलेका थिए।
कार्यक्रममा शहिद स्मृतिमा विद्यालयमा अध्ययनरत २५० विद्यार्थीलाई फलफूल बितरण गरिएको थियो। उक्त कार्यक्रममा अखिल र अखिल (क्रान्तिकारी) का जिल्लास्तरीय अगुवाहरुको उपस्थिति थियो।