महाकालीमा नेपालले सन्धिअनुसार पानी पाउनुपर्छ : प्रधानमन्त्री

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १४ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन दिएका छन्। भोलिदेखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई निर्देशन दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्धेश्यीय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन आज सिंहदरबारमा बैठक आयोजना गरेको थियो। सो बैठकमा नेपाल–भारतस्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यसअनुसारको तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले २३ वर्ष अघि महाकाली सन्धीअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने १० घन मिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकाले यस विषयलाई गम्भिरताका साथ उठाउनुपर्ने बताएका हुन्। “हाम्रो पहिलो प्राथमिकता सन्धीको कार्यान्वयन हो। सन्धीअनुसार नेपालले १० क्यूसेक पानी पाउनुपर्छ” प्रधानमन्त्री ओलीले भने, “सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति अब हुनुहदैन।”

२०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटर प्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउने भारतलाई तत्पर गराउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। बैठकमा उर्जा मन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई लागयतको सहभागिता थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्