अब चौतारामै स्नातकोत्तरको पढाइ

chautara - januka
लाेकपाटी न्यूज

चौतारा १५ फागुन। सिन्धुपाल्चोकमा पहिलोपटक स्नातकोत्तर तहको कक्षा सुभारम्भ गरिएको छ। चौतारा बहुमूखी क्याम्पसले मंगलबारबाट स्नातकोत्तरको नियमित पहिलो सेमेस्टरको कक्षा सुरु गरेको छ।

स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने ७७ जनाले प्रवेश परीक्षामा फर्म भरेका थिए। जसमध्ये ७१ जना प्रवेश परीक्षामा समेत उत्तीर्ण भएका छन्। त्रिभूवन विश्वविद्यालयबाट शिक्षाशास्त्र संकायमा सम्बन्धन प्राप्त भएपछि मूल विषय अङ्ग्रेजी र नेपालीमा कक्षा सञ्चालन सुरु गरिएको हो।

स्नातकोत्तर तह एमएड सेमेस्टरको प्राध्यापन सुभारम्भ कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले चौतारामा स्नातकोत्तर तहको अध्ययन सुरु हुन गौरवको कुरा भएको बताइन्। ‘आफ्नै ठाउँमा एमएडको अध्यापन हुने भएपछि उच्च शिक्षाका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ।’

उनले भनिन्, ‘यसको सुरुवात मात्रै होइन, निरन्तर टिकाइराख्न र गुणस्तरीय शिक्षा प्रदान गर्न पनि उत्तिकै जरुरी छ।’ ठूलो जनशक्ति अध्ययनबाट बञ्चित भइरहेको अवस्थामा जिल्लामै शिक्षा पाउनु महत्वपूर्ण विषय भएको बताउँदै पराजुलीले पहिलो सेमेस्टरका विद्यार्थीको नतिजाले क्याम्पसको भविश्य निर्धारण गर्ने बताइन्।

कार्यक्रममा प्राध्यापक रमेश शुभेच्छुकले शिक्षा विषय समाज परिवर्तन गर्ने एउटा पाटो भएकाले यसलाई सानो सोच्नु गलत भएको बताए। ‘शिक्षक बन्नु भनेको एक जना मात्रको विकास हुनु होइन, सिंगो समाजलाई उठाएर हेर्नु हो’, उनले भने। उनले अधिकांशले शिक्षामा पैसालाई प्रथमिकता दिएको कारण धेरै युवा खाडी मुलुकमा दुःख गर्न बाध्य भएको बताए।

कक्षा सुभारम्भ कार्यक्रममा क्याम्पस सञ्चान समितिका संस्थापक सदस्य सोम सापकोटा, सल्लाहकार समिति सदस्य केशवलोचन शर्मा, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतम, क्याम्पस सञ्चालक समितिका सदस्य यज्ञप्रसाल दंगाल, स्ववियु सभापति मिलन लामा लगायतले शुभकामना दिएका थिए।

स्नातक तहको अध्ययन पूरा गरी प्रतिकूल परिस्थितिका कारण राजधानीमा बसेर थप अध्ययन गर्न नसक्नेका लागि जिल्लामै स्नातकोत्तर तहको कक्षा सञ्चालन भएपछि त्यस्ता विद्यार्थीका लागि सुविधा प्राप्त भएको छ। कक्षा सञ्चालनका लागि सुविधासम्पन्न भवनको व्यवस्था छ। वि.सं. २०५८ मा सम्बन्धनप्राप्त क्यामपसमा हाल स्नातक तहमा व्यवस्थापन, शिक्षा र विज्ञान संकायमा गरी ३ सय ५० छात्रछात्रा अध्ययन गरिरहेका क्याम्पस प्रमुख नगेन्द्र दंगालले जानकारी दिए।

समाजसेवी, शिक्षाप्रेमी, अभिभवक, विभिन्न विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी, विद्यार्थी उपस्थित अभिमूखीकरण कार्यक्रममा स्नातकोत्तर तहको सेमेस्टर प्रणाली, शुल्क, परीक्षा लगायतका विषयमा जानकारी गराइएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्