ट्रम्प–किम दोस्रो शिखर वार्ता शुरु

tramp kim
लाेकपाटी न्यूज
0 Shares

हनोई, १५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनबीच हुने भनिएको दोस्रो शिखर वार्ता शुरु भएको छ । आज र भालि हुने भनिएको सो वार्ताको लागि किम जोङ उन दक्षिण पूर्वी एसियाली राष्ट्र भियतनाम पुगेका छन् । वार्ता भियतनामको हनोईमा हुँदैछ ।

ट्रम्पसँग शिखर वार्ताका लागि किम दुई दिनभन्दा बढी समय लगाएर उत्तर कोरियाली नेता चढ्ने विशेष रेलमार्फत चार हजार किलोमिटरको दुरी पार गरेर भियतनाम पुगेका हुन् । ट्रम्प र किमबीच गत वर्षको १२ जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । सो वार्ताको निरन्तरतास्वरुप भियतनाममा दोस्रो शिखर वार्ता हुन लागेको हो ।

भियतनाम पुगेका नेता किमको भव्य स्वागत गरिएको छ । शिखरवार्तामा सहभागी हुनका लागि किम आइतबार प्योङयाङबाट रेल चढेर हनोई प्रस्थान गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले समेत आफू हनोईतर्फ लागेको ट्वीट गरेका छन् । ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले बुधवार साँझ दुई नेताबीच एक्लाएक्लै संक्षिप्त वार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिएकी हुन् । त्यसलगत्तै उनीहरुले केही सल्लाहकारहरुसँगै बसेर साँझको खाना खानेछन् । त्यसपछि दुई नेताहरुबीच बिहीबार चरणबद्ध रुपमा वार्ता हुने बताइएको छ ।

आजबाट हुने शिखर बैठकले गत वर्षको १२ जुनमा सिंगापुर वार्तामा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै त्यसलाई कार्यान्वयन तहमा लैजाने थप आधारहरू तयार गर्ने दुवै देशका अधिकारहिरुले बताएका छन ।

सिंगापुर वार्तामा उत्तर कोरियाले परमाणु हतियार निर्माण तथा परीक्षणका काम रोक्न तयार भएको थियो । तर, त्यसपछि परमाणु हतियार निशस्त्रीकरणको मोडालिटीका विषयलाई लिएर विवादबीच कूटनीतिक तहमा कुनै प्रगति भने हुन सकेको छैन । दुई मुलकबीच त्यसपछि पनि देखिएको असमझदारीबीच छिट्टै हुने भनिएको दोस्रो चरणको शिखर बैठक हुन धेरै समय लागेको हो । यो वार्तामा दुई नेताबीच स्पष्ट प्रगति हुनेगरी छलफल हुने अपेक्षा गरिएको छ ।

यद्यपि दुई नेताबीचको बैठकबाट आउने परिणामको अपेक्षाबीच आफू हतारमा नरहेको प्रतिक्रिया दिएका छन् । उत्तर कोरियालाई निशस्त्रीकरण गर्न दबाब दिन आफू हतारमा नरहेको संकेत गर्दै ट्रम्पले भनेका छन्, ‘म कसैलाई हतार गर्न लाउन चाहन्नँ । म अस्त्र परीक्षण नहोस् भन्ने चाहन्छु । परीक्षण नहुने हो भने हामी सन्तुष्ट नै छौं ।’

किम पहिलो पटक दुई कोरियाको असैनिकीकृत क्षेत्रमा देखा पर्दा उनको गाडीसँगै दौडेका सुरक्षाकर्मीको भिन्न शैलीले धेरैको ध्यानाकर्षण गराएको थियो । सिंगापुर जाँदा भने किमले चिनियाँ विमानको प्रयोग गरेका थिए ।

यसपटक भने उनले आफ्ना हजुरबुवा किम इल–सङले जस्तै लामो रेल यात्रा तय गरे । केही घण्टामै हवाइजहाजमा तय गर्न सकिने सो यात्राका लागि रेल रोज्दा बाटोमा पर्ने मार्ग र रेल स्टेशनहरू सर्वसाधारणका लागि बन्द गरिएका थिए । यात्राको सबैभन्दा बढी भूभाग समेटिएको चीनमा परेको असरप्रति आक्रोश र व्यंग्य सामाजिक सञ्जालमा व्यक्त भएको थियो ।

आफ्नो देशबाट निस्केपछि यात्राले समेट्ने भूभागमा चीन र भियतनाम मात्र रहेकोले पनि उनले सुरक्षाका दृष्टिले त्यस्तो विकल्प प्रयोग गरेको अनुमान गरिएको छ । चीन र भियतनाम दुवै कम्युनिस्ट सत्ता भएका देश हुन् र उनीहरूको उत्तर कोरियासँग निकै राम्रो सम्बन्ध छ ।

भियतनामको भने अमेरिकासँग कुनै समयमा दुश्मनीपूर्ण सम्बन्ध थियो भने भियतनाम युद्धमा अमेरिका पराजित भएर फर्किनुपरेको थियो । यो शिखर बैठकको आयोजना गरेर उसले विगतको तित्ततापूर्ण सम्बन्धलाई सामान्यीकरण गर्न खोजेको देखिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्