काठमाडौंं, १५ फागुन । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलले हेलिकाेप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनाको शव राजधानी ल्याउन त्यस तर्फ थप हेलिकोप्टर पठाइएको बताइएको छ ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले दुर्घटनाको उद्धारका लागि राजधानीबाट एयर डाइनेस्टिक र सिम्रिक एयरलाईन्सको हेलिकोप्टर त्यस तर्फ गएको जानकारी दिए । यस्तै नेपाली सेनाको दुई हेलिकोप्टर पनि त्यसतर्फ जादै गरको उनले जानकारी गराए ।
प्रहरीले सातै जनाको शब फेला परेको जनाएको छ । उनले पौने १२ बजे पाथिभराको क्षेत्रमा हेलिकोप्टरले रिपोर्ट गरेको र पौने १ बजे सुकेटार टावरलाई भारी हिमपात भएको र उड्न नसक्ने जानकारी गराएको बताए ।
मौसम प्रतिकुलताको साथै दुर्घटनाग्रस्त स्थल विकट ठाउ भएकाले उद्धारका लागि समस्या भएको विमानस्थलले जनाएको छ । हेलिकोप्टर दुर्घटनामा परि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको छ ।