‘प्रचुर सम्भावनायुक्त र भरोसायोग्य नेता गुमायौं’

Prachanda-Oli
लाेकपाटी न्यूज

काठमाडौं, १५ फागुन। नेपाल कम्युनिष्ट पार्टी नेकपाले नेतासमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको हेलिकप्टर दुर्घटनाप्रति शोक प्रकट गरेको छ ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त शोक वक्तव्यमार्फत दुःख प्रकट गरेका छन् । वक्तव्यमा देशले एउटा योग्य र प्रतिभाशाली नेता गुमाएको उल्लेख छ।

दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदास बजिमय, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र पाइलट प्रभावकर केसीको मृत्यु भएको छ ।

विज्ञप्तिमा अध्यक्षद्वयले मुलुकले विकास र जनताप्रति सधै समर्पित जनप्रतिनिधि गुमाएको उल्लेख गरेका छन्। विज्ञप्तिमा ‘प्रचुर सम्भावना बोकेका भरोसायोग्य नेता देश र पार्टीले गुमाएको’ बताइएको छ।

अध्यक्षद्वयले युवा नेताका साथै देशले ख्यातिप्राप्त व्यवसायी, चालक र राष्ट्रसेवक कर्मचारी गुमाएको विज्ञप्तिमा उल्लेख गरेका छन्। नेकपाले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफन्त र शुभेच्छुकमा धैर्यधारणाका लागि अपीलसमेत गरेको छ।