युवाहरुलाई रवीन्द्र अधिकारीको मार्मिक सन्देश

Rabindra-Adhikari-12
लाेकपाटी न्यूज

काठमाडौं। हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको छ। विद्यार्थी आन्दोलनदेखि राजनीतिको केन्द्रमा आएका मन्त्री अधिकारी युवा र विद्यार्थीमाँझ निकै लोकप्रिय थिए। ‘रवीन्द्र दाइ’ भन्दै सबै झुम्मिन्थे। तर, अधिकारी भौतिक रुपमा युवाहरुबीच रहेनन्।

मन्त्री अधिकारी पनि सधैं युवाहरुलाई प्राथमिकतामा राख्थे। जीवनको लामो समय युवाहरुको अधिकारका लागि खर्चिएका अधिकारीले आफ्नो आधिकारिक वेभसाइटमा ‘मेरो भन्नु’ शीर्षकमा युवाहरुलाई सम्बोधन गरेका छन्। यस्तो छ मन्त्री अधिकारीको युवाहरुलाई सन्देश।

राष्ट्रका शक्ति भनेको युवा हुन्। उनीहरूकै हातमा देशको भविष्य निर्भर छ। र, उनीहरूकै प्रत्यक्ष संलग्नतामा सम्पूर्ण राजनीतिक परिवर्तनहरू भएका छन्। तिनै जुझारू, लगनशील, राष्ट्रप्रति समर्पितहरूसँग सम्वाद गर्नका निम्ति बनाइएको यो वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत छ।

व्यापक आर्थिक वृद्धि गरेर समृद्ध राष्ट्र बनाउनु, सामाजिक न्यायसहितको सुसंस्कृत र परिस्कृत समाज निर्माण गर्नु अहिलेको आवश्यकता हो। हरेक जातजाति, समुदाय, वर्ग विशेषले व्यवहारिक रूपमा स्वतन्त्रताको अनुभूति नगरेसम्म मुलुकको परिवर्तन भएको मानिने छैन। २१ औं शताब्दीको विज्ञान र प्रविधिको प्रयोगले मात्र मुलुकको विकास र परिवर्तनलाई द्रुत बनाउन सकिन्छ।

यसका लागि युवाहरूको राजनीतिमा प्रत्यक्ष भूमिका हुनु पनि अत्यावश्यक छ। हाम्रो समाजका कमजोरीहरू पनि थुप्रै छन्, जसकारण हरेक जातजाति, समुदाय, वर्ग विशेषले व्यवहारिक रूपमा स्वतन्त्रताको अनुभूति गर्न पाएकै छैनन् अर्थात् उनीहरू बञ्चित छन्। जसका कारण देशले जति फड्को मार्नु पर्ने हो, त्यति फड्को मार्न सकिरहेको छैन।

नेपालमा बेरोजगारी र अशिक्षाको समस्या निकै जटिल छ। यो समस्याको जड नै देशमा भएको राजनीतिक अस्थिरता हो। यही अस्थिरताको असर हाम्रो अर्थव्यवस्थामा परेको छ। जसले गर्दा हाम्रो अर्थतन्त्र टाक्सिएको छ। उद्यमशीलताको विकास हुनसकेको छैन। रोजगारी, सीपमूलक तालिम लयागतका विषयमा राज्यले स्पस्ट बाटो लिँन नसक्दा हामीले सफलता हासिल गर्न सकेका छैनौं। त्यसैले यस्ता यावत् समस्याको समाधानका लागि एउटा नयाँ सोच, सिर्जना र उच्च इच्छा शक्तिका साथ संकल्प गरौं।

आउनुहोस्, हातमा हात मिलाएर अर्थ–सामाजिक तथा राजनीतिक प्रतिबद्धतालाई साकार पार्न एकजुट हौं। हामी राष्ट्रका सम्पूर्ण चुनौतीहरू समाधान गर्न अवश्य सफल हुनेछौं, धन्यवाद।
रवीन्द्र अधिकारी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्