कांग्रेस सभापति देउवा र शेखर कोइरालाविरुद्ध उजुरी

0

काठमाडौं, १७ साउन । नेपाली कांग्रेसको अनुशासन समितिमा पार्टी सभापति शेरबहादुर देउवा र शेखर कोइरालाविरुद्ध उजुरी परेको छ। यद्यपि दुबैका सम्बन्धमा समितिले कुनै निर्णय गरेको छैन।

सभापति देउवाविरुद्ध भरतपुरमा रुख चिहृनबाहेक अन्यत्र मतदान गर्न लगाएको भन्दै उजुरी परेको हो। देउवाले स्थानीय चुनावमा भरतपुर महानगरको मेयरमा तत्कालीन माओवादीकी उम्मेदवार रेनु दाहाललाई भोट मागेका थिए। चुनावी तालमेल राजनीतिक निर्णय भएको भन्दै यो उजुरी पेन्डिङमा राखिएको छ।

यस्तै शेखर कोइरालाविरुद्ध पनि उजुरी परेको छ। १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा योग्यता नपुगेको भन्दै उनीविरुद्ध अनुशासन समितिमा उजुरी परेको हो। कांग्रेसको विधानअनुसार लगातार १० वर्ष क्रियाशील सदस्य भएपछि मात्र केन्द्रीय सदस्य हुन पाइन्।

तर वि. स. २०६० सालसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति रहेका कोइराला लगातार १० वर्ष क्रियाशील सदस्य नभइ पार्टी केन्द्रीय सदस्य भएको उजुरीकर्ताको दाबी छ। अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले पनि सभापति देउवासँगै कोइरालाविरुद्ध उजुरी परेको स्वीकार गरेका छन्। उनले भने, ‘निवेदन आएको थाहा पाएको छु, तर समितिको बैठक बस्न नपाएकाले त्यसबारे कुनै छलफल भएको छैन।’

Comments
Loading...
You might also like