मार्क्सवादी स्कूल : अध्यात्मवाद र अधिभूतवाद के हो ?

globe and god
लाेकपाटी न्यूज
1 Shares

आदर्शवाद अङ्ग्रेजी भाषाको आइडिया शब्दबाट बनेको हो। यसको अर्थ विचार हुन्छ। आदर्शवादले राज्यलाई एउटा नैतिक संस्था मान्दछ। राज्यको आज्ञाको पालन गर्नु व्यक्तिको कर्तव्य मानिन्छ। धर्म र नैतिकता व्यक्तिका अध्यात्मिक तत्व मानिन्छन्। आदर्शवादले नागरिक जीवनको अन्तिम लक्ष्य राज्य भक्ति मान्दछ।

यसले राज्यलाई नैतिक संस्था मान्दछ। इश्वरीय शक्तिलाई मुख्य शक्ति मान्ने हुनाले राजालाई ईश्वरको अवतार मान्ने र उसका कुनै गल्ती–कमजोरी हुँदैनन् भन्ने मान्यता रहेको हुनाले उसैलाई र सूचनाका स्रोत धेरै भएको सम्पन्न वर्गको प्रभुत्व रहेको राज्य शक्तिलाई सर्वेसर्वा मान्नुपर्ने मान्यता राख्दछ। आदर्शवादी विचारका अनुसार सामाजिक हितमा व्यक्तिको हित आश्रित हुने हुँदा राज्य सामाजिक व्यवस्था र सामाजिक हितको रक्षक हुन्छ।

दर्शनशास्त्र एक प्राचीन विज्ञान हो। अस्तित्वप्रति चिन्तनको सम्बन्धबारेको प्रश्न दर्शनशास्त्रको मूल प्रश्न हो। चेतनालाई आदितत्व मान्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन्। उनीहरूको दृष्टिकोणमा पदार्थभन्दा पहिले नै चेतनाको अस्तित्व थियो। चेतनाबाट नै पदार्थको रचना भएको हो र चेतना नै मुख्य हो। चेतनाले नै पदार्थलाई जन्माएको हो। त्यसको अर्थ चेतना नै सम्पूर्ण अस्तित्वको पूर्वाधार हो।

संसारको सृष्टि गर्ने चेतनाका बारेमा अध्यात्मवादीहरूबीच एकमत छैन। एकथरि अध्यात्मवादीहरूले कर्ताद्वारा वा पृथक व्यक्तिको चेतनाद्वारा जगतको सिर्जना गरिन्छ भन्ने विचार गर्दछन्, उनीहरुलाई आत्मगत आदर्शवादी मानिन्छ। अर्कोथरि अध्यात्मवादीहरू, जसलाई वस्तुवादी अध्यात्मवादी भनिन्छ, तिनीहरूले व्यक्तिभन्दा बाहिर अस्तित्वमा रहेको कुनै वस्तुगत चेतनाले जगतको सृष्टि गर्छ भन्ने व्याख्या गर्छन्। विभिन्न दार्शनिक प्रणालीहरूमा कतै परम भावनाको रूपमा र कतै परम इच्छा आदिको रूपमा व्याख्या गरिने यो चेतनामा ईश्वर, जुन अलौकिक शक्ति हो, त्यसलाई नै मुख्य मान्ने गर्दछन्।

अज्ञेयवादी अध्यात्मवादीहरूले जगतका बारेमा जान्न सकिन्छ भन्ने कुराको अस्वीकार गर्छन्। वस्तुगत अध्यात्मवादीहरूले जगतका बारेमा जान्न सकिन्छ भन्ने मान्यतालाई स्वीकार गरे पनि व्यवहारमा बोधगम्यताको व्यवहारलाई बङ्ग्याउँछन्। उनीहरूले भन्छन्, ‘मानिसले वस्तुगत जगत र प्रकृतिका बारेमा जान्न सक्ने हुने होइन, उसले आफ्नै विचार या अनुभूतिहरूलाई जानकारी गराउने वा जान्ने हुने हो।’ ती आत्मगत अध्यात्मवादीभन्दा छुट्टै वस्तुगत अध्यात्मवादीहरूले रहस्यमय भावना र ब्रम्हालाई बोध गर्ने कुरा गर्छन्। वस्तुगत र आत्मगत आदर्शवादी दुवैको मुल आधार विश्वास मात्र हो, विज्ञान होइन।

अध्यात्मवाद जगतको वैज्ञानिक व्याख्याको विरोधी हुन्छ। अध्यात्मवादले धर्मले जस्तै अलौकिक शक्तिहरूलाई नै जगतको केन्द्रविन्दु ठान्दछ। वास्तवमा अति शुक्ष्म र छद्म भेषमा धर्मको रूप लिन खोज्दछ। ईश्वरले जगतको सृष्टि गरेको हो भन्ने कुरालाई अध्यात्मवादले दार्शनिक रूपमा बुद्धिको प्रयोग गरेर, धार्मिक रूपमा पर्दा लगाएर उही धर्मको पुष्टि गर्दछ। अन्धविश्वासमा मात्र भर नपरिकन मानिसले आफ्नो बुद्धि–विवेकको आड लिने प्रयत्न गर्छ भने उसले अध्यात्मवादलाई वैज्ञानिकताको वर्को ओढेको जस्तो लाग्दछ। यसको मूख्य कारण वर्गीय स्वार्थ नै हो।

अध्यात्मवादले प्रगतिशील सामाजिक शक्तिहरूविरुद्ध समाजका प्रतिगामी शक्ति वा प्रतिक्रियावादी शक्तिहरूको सङ्घर्षमा साथ दिन्छ। त्यही उद्देश्य पूर्तिका लागि उसले हुदै नभएको ईश्वरीय शक्तिमाथि विश्वास गर्न प्रेरणा दिँदै सहयोग पुर्याउँछ। श्रमिकहरूलाई बौद्धिक रूपमा दास बनाउन, उनीहरूमाथि आफ्नो प्रभुत्वको औचित्व सावित गर्न र त्यो प्रभुत्वलाई दरिलो तुल्याउन शोषकहरूले सधै अध्यात्मवाद र धर्मको प्रयोग गर्दै आएका छन्। उनीहरूले आफ्नो आर्थिक प्रभुत्वको मातहतमा श्रमजीवीहरूलाई भौतिक रूपमा मात्र होइन, बौद्धिक रूपमा पनि आफ्नो मातहतमा रहन बाध्य पार्ने उपाय खोज्दै जाँदा आदर्शवादी दर्शनलाई आफ्नो बलियो हतियार भेटेका हुन्।

अध्यात्मवादले चेतनाको उपज मात्र ठान्दछ। सबै सामाजिक अन्तर्विरोधहरूको व्याख्या चेतनालाई मुख्य मानेर त्यसैको आधारमा गर्छ। भौतिक जगतलाई पन्छाएर गरिने विश्लेषण हुनाले व्यावहारिक वास्तविकतासँग मेल खान्न। पूँजीवादका सम्पूर्ण अवगुण र विपत्तिहरूलाई मानिसहरूको भ्रम र उनीहरूको नैतिक अपूर्णताको रूपमा प्रस्तुत गर्दछ। यसले मजदुर र श्रमजीवीहरूलाई ठग्ने र भुलभुलैयामा राख्ने काम गर्दछ। उनीहरूलाई पूँजीवादी साम्राज्यवादी र प्रतिक्रयावादीहरूको विरुद्ध सङ्घर्ष गर्नबाट रोक लगाउँछ।

अध्यात्मवाद र धर्मको निकट सम्बन्ध छ। आदर्शवादको सम्बन्ध वास्तविक भौतिक संसारभन्दामाथि र भौतिक संसारका विरुद्ध आदर्शवादी या परलौकिक संसारसँग छ। आदर्शवाद सार रूपमा एउटा रूढिवादी र प्रतिक्रियावादी शक्ति हो। त्यसको प्रतिक्रियावादी प्रभाव व्यवहारमा देखा पर्छ। आदर्शवादीहरूले समाजमा भएका सम्पन्न र विपन्न वर्गहरूबीचको भिन्नता ईश्वरको इच्छामा, दिव्य चिन्तनमा र मान्छेको दिमागका स्वाभाविक जन्मसिद्ध विशिष्टतामा ती कारणहरू खोज्छन्। त्यसको परिणाम स्वभाविक रूपमा बौद्धिक दासता मात्र हुन्छ। समस्याको वास्तविकता पत्ता लाग्दैन।

एङ्गेल्सका अनुसार ‘जुन दार्शनिकहरूले प्रकृतिको सट्टा आत्माको प्राथमिकतामाथि जोड दिएर संसारको उत्पत्तिको स्रोत कुनै न कुनै रूपमा आत्मलाई माने, उनीहरू आदर्शवादी खेमामा सामेल भए।’ आदर्शवाद वस्तुहरूको व्याख्या गर्ने त्यो तरिका हो, जसले विचारलाई पदार्थभन्दा पहिलो स्थान दिन्छ। विचारको सुरूवात कहाँबाट भयोभन्दा अलौकिक वा ईश्वरी शक्तिबाट भन्नेभन्दा बाहेक उनीहरूसँग अर्को कुनै उपाय छैन।

आदर्शवादले हरेक भौतिक पदार्थ कुनै न कुनै अध्यात्मिक वस्तुमाथि आश्रित हुन्छ र त्यसैद्वारा निर्धारित हुन्छ भन्ने मान्दछ। आदर्शवादलाई अन्धविश्वासबाट छुटाउन सकिन्न। अलौकिक, रहस्यपूर्ण र जान्न नसकिने भनेर गरिने विश्वासबाट अलग गर्न सकिन्न। वस्तुहरूका आदर्शवादी अवधारणाहरूका आधारहरू तिनै हुन्, जुन धर्मका हुन्।

आदर्शवादका मुख्य दावीहरू ३ वटा छन्, १. भौतिक संसारभन्दा वैचारिक संसारमाथि छ। २. आत्म वा मस्तिष्क वा विचारको अस्तित्व पदार्थको अस्तित्वभन्दा छुट्टै हुन सक्छ र छुट्टै छ। आत्मगत आदर्शवादले पदार्थको कुनै अस्तित्व नै मान्दैन। त्यो विशुद्ध भ्रम मात्र हो भन्ने मान्यता राख्दछ। ३. जुन प्रत्यक्ष रूपमा इन्द्रियहरूद्वारा जान्न, अनुभव गर्न र विज्ञानद्वारा निश्चित रूपले निर्धारित गर्न सकिन्छ र बुझ्न सकिन्छ। त्यसको माथि, पर वा पछाडि रहस्यमय र अज्ञेय संसार रहेको छ।

मानव चिन्तनको सम्पूर्ण इतिहास आदर्शवादविरुद्ध भौतिकवादको सङ्घर्षको इतिहास हो। ईश्वरको इच्छाका रूपमा अस्तित्वमान मान्नेमाथि विश्वास गर्नु आवश्यक छैन। हामी स्वयंले प्रकृति र समाजलाई बुझ्न सक्छौँ। त्यही कारणले आदर्शवादप्रति घृणा उत्पन्न हुन्छ। आदर्शवादले शब्दाडम्बरको आडमा मान्छेद्वारा मान्छेमाथि प्रभुत्व कायम गर्ने उपदेश दिन्छ।

आदर्शवादलाई सामान्यतः दुई भागमा बाँड्न सकिन्छ। पहिलो वस्तुगत आदर्शवाद हो। त्यसले मानिसभन्दा बाहिर रहेको चेतना, ईश्वर विचार आदिलाई मूल तत्व मान्दछ। वस्तुगत आदर्शवादी दार्शनिकहरूमा प्राचीन युनानका प्लेटो, जर्मनका हेगेल आदि मुख्य हुन्। दोस्रो, आत्मगत आदर्शवादको यसले मानिसहरूका संवेदनाभन्दा बाहिर पदार्थको कुनै स्वतन्त्र अस्तित्वलाई स्वीकार गर्दैन। सबै पदार्थहरू खालि समवेदनाका प्रतिरूप मात्र हुन भन्ने दृष्टिकोण राख्दछ। आत्मगत आदर्शवादी दार्शनिकहरूमा इङ्गल्याण्डका वर्कले ह्युम आदि मुख्य हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्