Spread the love
  • 224
  •  
  •  
  •  
  •  
    224
    Shares

मार्क्सवादी स्कूल : को हुन् बृहस्पति, के हो चार्वाक दर्शन ?

0
  • नारायणप्रसाद आचार्य

चार्वाक दर्शन प्राचीनकालका भौतिकवादी चिन्तनको एकमात्र व्यवस्थित र स्पष्ट दर्शनधारा हो। देवता, ईश्वर, राजा–महाराजा र ब्राह्मणहरूका पराक्रम तथा अध्यात्म दर्शनको वर्णनले ओतप्रोत महाभारत ग्रन्थ–सागरमा चार्वाक दर्शनलाई सर्वत्र बहिष्कार गरिएको मात्र छैन, अत्यन्त दुष्ट विकृत प्राणीको रूपमा देखाइएको छ। यसलाई भौतिकवादविरुद्ध अध्यात्मवादको चरम र विकृतिका हदसम्मको पक्षधरताको प्रमाण मान्न सकिन्छ।

कर्मकाण्डीय पाखण्ड र अध्यात्मवादका विरुद्ध चार्वाकको खरा र अकाट्य तर्कको सामु उसबेला कोही अडिन सक्दैनथे। चार्वाक दर्शनको समयबारे विद्वानहरूमा मतभेद भए पनि यो महाभारत कालमा विद्यमान रहेको प्रमाण स्वयं महाभारतमै पाइन्छ। यसका जराहरू वैदिक कालसम्म फिँजिएका छन्। वास्तवमा यो दर्शन प्राचीनतम प्रागवैदिक कालको भौतिक सामाजिक स्रोतहरूदेखि नै विकसित हुँदै प्रत्ययवादी दर्शनको प्रादुर्भावपछि वर्गीय समाजमा झाङ्गिदै गएको शोषण र बौद्धिक स्थिरताका विरुद्धको सङ्घर्षमा थप विकसित र सङ्गठित दर्शन थियो।

यसलाई लोकायत वा लोकायतिक दर्शन पनि भनिएको पाइन्छ। यस सिद्धान्तले शब्द र अनुमानलाई होइन, प्रत्यक्षलाई मात्र प्रमाण मान्दछ। यसले भन्छ – पृथ्वी, जल, तेज र वायु यी चार तत्व हुन्। यिनैको संयोग, वियोग आदिबाट सारा वस्तुहरू बनिने र मासिने गर्छन्। भूतद्रव्य नै चेतनाको उत्पत्ति स्रोत हो। देहबाहेक अर्को कुनै आत्माको अस्तित्व छैन। चेतना सम्पन्न विशिष्ट काय नै पुरुष (आत्मा) हो। यसको मतमा, मृत्यु नै मोक्ष हो। चार्वाक दर्शनमा कतै कुनै ईश्वरको अस्तित्व छैन।

चार्वाक दर्शनबारे प्रोफेसर हरेन्द्र भन्छन्, ‘चार्वाकहरूका विचारलाई हामी मानौँ कि नमानौँ। तर उनीहरूका युक्तिहरूले हामीलाई प्रभावित पार्दछन्। ईश्वर, आत्मा, स्वर्ग, नर्क इत्यादि सत्ताहरूको खण्डनमा चार्वाकहरूले जुन युक्तिहरू प्रस्तुत गरेका छन्, तिनीहरूलाई चुनौती दिनु असम्भव नभए पनि गाह्रो अवश्य नै छ। ती युक्तिहरूका विरुद्ध आक्षेप उपस्थित गर्नु कृत्रिम प्रतीत हुन्छ।’

फेरि उनकै शब्दमा – ‘‘प्रो. हिरियानाले चार्वाक जुन युक्तिहरूद्वारा आत्माको खण्डन गर्छन्, तिनीहरूको प्रशंसा गर्दै भनेका छन्, जुन आत्माको भारतका अन्य दर्शनहरूमा महत्वपूर्ण स्थान रहेको छ, त्यसको खण्डनका कारणले चार्वाक घनघोर वादविवादको विषय रहेको छ। तर के मान्नैपर्छ भने सैद्धान्तिक रुपले चार्वाकको दृष्टिकोण अकाट्य छ। प्रो. हिरियानाको कथन आत्माका साथै ईश्वर, स्वर्ग, नर्क इत्यादि प्रत्ययहरूमा पनि लागू हुन्छ।’

लोकायत वा चार्वाक दर्शनको प्राचीनताबारे आचार्य झाको टिप्पणी सम्झिनयोग्य छ। उनी भन्छन् –“थेल्ज (६४०–५५ ई.पू.) को जलमूलतत्वतावाद र एनेकस्मेनिज (५९०–५२५ ई.पू.) को वायुमूलतत्वतावाद एवं पाइथागोरस (५७०–५०० ई.पू.) को समानुपात–मुलतत्ववादले स्पष्टरूपेण के देखाउँछ भने यस भूताद्वैतवादी चार्वाक दर्शनको प्रभाव भारत बाह्य देशहरूमा अति प्राचीनकालदेखि नै प्रमुख रुपले पर्दै आएको छ।”

यहाँ चार्वाक दर्शनको सङ्क्षिप्त परिचयात्मक झलकमात्र दिई महाभारतको तत्सम्बन्धी दृष्टिकोण देखाउने गरी त्यस ग्रन्थका दुई प्रसङ्गमा आएका चर्चालाई उल्लेख गरिएको छ। यिनीहरू अध्यात्मवाद र भौतिकवादका चरम द्वन्द्वको दृष्टान्त प्रस्तुत गर्दछन्।

चार्वाकबारे महाभारत शान्तिपर्वमा आएको एउटा घटना वृत्तान्त यस्तो छ – महाभारत युद्धको विजयपछि ठूलो उत्सवका साथ राजा युधिष्ठिर नगर प्रवेश गरिरहेका थिए। एउटा ब्राह्मण भेषधारी चार्वाक राक्षसले त्यहाँ उपस्थित थुप्रै ब्राह्मणहरूको तर्फबाट उनलाई हप्काउँदै भन्यो, “कुन्तीनन्दन, तिमी आफ्ना भाइ–बन्धुहरूको हत्या गर्ने एउटा दुष्ट राजा हौ। तिमीलाई धिक्कार छ। यस्ता पुरुषले बाँचेर के गर्नु ? यसरी बन्धुहरूलाई मारेर, गुरुजनहरूलाई मराएर बाँच्नुभन्दा त तिमीले मर्नु राम्रो हो।”

यो सुनेर “सब ब्राह्मण र राजा युधिष्ठिर अत्यन्त उद्विग्न र लज्जित भए। प्रतिवादमा उनीहरूका मुखबाट एउटा शब्द पनि निस्केन। अलिक बेरसम्म उनीहरू मूक भए।” त्यसपछि मात्र ब्राह्मणको बोली फुट्यो, “धर्मात्सन्, यो दुर्योधनको परम मित्र चार्वाक नामक राक्षस हो। यो सन्यासीको रुपमा यहाँ आएर उसको हित गर्न चाहन्छ। हामीले तपाईंलाई केही पनि भनेका छैनौँ। तपाईं यसरी भयभित नहुनुहोस्। हामी आशीर्वाद दिन्छौँ – भाइहरूसमेत तपाईंको कल्याण होस्।”

त्यसपछि ती चार्वाक ब्राह्मणलाई उनीहरूले आगोमा पोलेर मारेको वर्णन महाभारतमा यसरी आउँछ, “ब्रह्मवादी महात्माहरूका तेजले दग्ध भएको त्यो राक्षस इन्द्रका बज्रले डढेर अङ्कुरयुक्त वृक्ष ढलेझैं भुइँमा पछारियो। अनि राजाद्वारा पुजित ती ब्राह्मण उनको अभिनन्दन गरेर गए। पाण्डुपुत्र राजा युधिष्ठिर आफ्ना सुहृदहरूसहित अत्यन्त हर्षित भए।”

शल्यपर्वमा भीमसेनको गदा प्रहारले थालिएका दुर्योधनले प्रवचन–विशारद चार्वाकले उनको त्यो अवस्था थाहा पाए, त्यसको साटो नफेरी नछाड्ने बताएका छन् –“सन्यासी वाग्विशारद् चार्वाकले मेरो यस्तो अवस्था थाहा पाए भने ती महाभागले अवश्य नै यसको प्रतिकार गर्नेछन्।” आचार्य नीलकण्ठले उनलाई मुनिभेषमा भ्रमण गर्ने नास्तिक राक्षस भनेका रहेछन्।

यहाँ भनिएझैँ यदि चार्वाक दुर्योधनका मित्र हुन् र चार्वाकहरूले पाण्डवको नगर – प्रवेशोत्सवमा विरोधको सामूहिक स्वर उरालेका हुन् भने त्यसले दुर्योधनको दुष्टता र पाण्डवहरूको सदाचरणकै सम्बन्धमा पनि चलिआएको अतिशयोक्तिपूर्ण चित्रणभन्दा भिन्न अर्को रुप हुनसक्दछ भन्नेसमेत देखाउँछ।

त्यसै पनि चार्वाक र उनको दर्शनबारे भौतिकवादका चर्का विरोधीहरूका निषेधात्मक र विकृत विवरणहरूले भरिएका प्राचीन ग्रन्थहरूमा भरपर्दा तथ्यहरू भएको विश्वास गर्न सकिँदैन। यो कथा दुर्योधन र चार्वाकको मित्रता देखाएर ती दुवैलाई अधर्मी, दुष्ट, पतित र नास्तिक राक्षसको कोटीका पात्र भएको प्रमाणित गर्ने उद्देश्यवश गाँसिएको क्षेपक हुन पनि असम्भव छैन।

Spread the love
  • 224
  •  
  •  
  •  
  •  
    224
    Shares
You might also like
Comments
Loading...