नेकपा उनान्तीस र कांग्रेस बाह्र ठाउँमा विजयी, दुई ठाउँको नतिजा आउन बाँकी

  • 1.5K
    Shares
0

काठमाडौं, १६ मंसिर। धरान उपमहानगरपालिको प्रमुख र धरानकै वडा नं. ७ को वडाध्यक्षबाहेकअरु सबै ठाउँको मतपरिणाम सार्वजनिक भएको छ।

उपचुनाव भएका ५२ ठाउँमध्ये दुई ठाउँको मात्र नतिजा आउन बाँकी छ। दुई ठाउँको मतपरिणाम सार्वजनिक हुन बाँकी रहँदा सत्तारुढ नेकपा २९ र कांग्रेस १२ ठाउँमा विजयी भएका छन्।

प्रतिनिधिसभातर्फ उपचुनाव भएको एक मात्र कास्की २ मा नेकपाले जित दोहोर्‍याएको छ। यसअघि रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा यसपटक विद्या भट्टराई निर्वाचित भएकी छिन्।

प्रदेशसभाअन्तर्गत भक्तपुर १ (क) मा नेकपाले आफ्नो सिट गुमाएको छ। त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन्। प्रदेशसभातर्फ भने दाङमा नेकपाले र बागलुङमा राष्ट्रिय जनमोर्चाले जित दोहोर्‍याएका छन्।

उपचुनाव भएको तीन गाउँपालिकाको अध्यक्षमा संखुवासभाको मकालुमा नेकपाले जित दोहोर्‍याएको छ। यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द र राजपाले जितेको महोत्तरीको पिपरामा पनि नेकपा विजयी भएको छ।

एक प्रदेशसभा गुमाएको नेकपालाई दुई गाउँपालिकामा फाइदा भएको छ। एउटा गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा विजयी भएको छ।

हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी भएको हो। यसअघि यहाँ कांग्रेसले जितेको थियो। उपचुनाव भएको ४३ वडामध्ये कांग्रेस र नेकपाबीच केही स्थानमा साटफेर भएको छ।

यसअघि कांग्रेसले जितेका ७ वडामा नेकपा र यसअघि नेकपाले जितेका ६ वडामा कांग्रेस विजयी भएको छ।

पहिलोपटक चुनावमा भाग लिएको सिके राउतको पार्टीको मत पनि नगण्य आयो । साझा र विकेकशील पार्टीले चर्चाअनुसार कहीँ पनि उल्लेखनीय मत ल्याउन सकेनन् ।

प्रदेशसभामा जित दोहोर्‍याउन सफल राष्ट्रिय जनमोर्चाले यसअघि जितेको एउटा वडा चाहिँ गुमाएको छ।

समाजवादीले यसअघिको दुईवटा वडा बढाएर चार पुर्‍याएको छ भने एउटा गाउँपालिका गुमाएको राजपाले दुईवटा वडामा जित दोहोर्‍याउँदै एउटा वडा थपेको छ ।

Comments
Loading...
You might also like