उपनिर्वाचनको नतिजाबारे नेकपाका दुई नेताको विपरीत समीक्षा

  • 563
    Shares
0

काठमाडौं। भर्खरै निर्वाचन आयोगले शनिबार सम्पन्न उपनिर्वाचनका सबै स्थानको अन्तिम नतिजा सार्वजनिक गरेको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा भएको उपनिर्वाचनको नतिजाबारे भने नेकपाका दुई नेताले सामाजिक सञ्जालमार्फत फरक फरक समीक्षा पेश गरेका छन्।

पत्रकारिता हुँदै पार्टी राजनीतिमा आफूलाई सक्रिय गराएका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका प्रेस सल्लाहकार रहिसकेका नेकपाका नेता विष्णु रिजालले चुनावी नतिजाबारे फरक फरक दृष्टिकोण पेश गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले निर्वाचन परिणामलाई उल्लेख्य ठहर्‍याएका छन्। उनले नेकपाको जितको विषयलाई तथ्याङ्क सहित प्रस्तुत गर्दै ५९.८ प्रतिशत स्थानमा जित हासिल गरेको लेखेका छन्। नेकपाले ३१ स्थानमा जितेको जनाउँदै उनले पार्टी एकता अघि २८ स्थानमा मात्र जित हासिल भएको तथ्य पेश गरेका छ्न।

उनले अहिले ३ सिट थपिएको जनाउँदै ५.८ प्रतिशत बढी हासिल गरेको जनाएका छन्। फेसकुब स्टाटसमा उनले लेखेका छन् ‘…यसबाट सरकार र पार्टीको अनुचित आलोचना जनताले अस्वीकार गरेको स्पष्ट भएको छ।’

तर नेता रिजालले पार्टीको जितलाई थोरै आलोचनात्मक हिसाबले व्याख्या गरेका छन्। उनले फेसबुक स्टाटसको पहिलो वाक्यमै लेखेका छन् ‘नेकपाका लागि उपनिर्वाचन परिणाम सुखद् रहेन।’ भक्तपुरको प्रदेश सांसद र धरानको मेयरको विषयलाई लिएर जित फुस्किएको टिप्पणी गरेका छन्।

यद्यपि, उनले दाङ र कास्कीमा रहेको मतान्तरलाई महत्वका साथ व्याख्या गरेका छन्। भावना र सहानुभूतिले पनि काम गरेको भन्दै जितलाई व्याख्या गरेका छन्। ‘समय छ, परिणाममुखि काम गरेर मात्रै यसको क्षतिपूर्ति हुन्छ, काइते तर्कले होइन,’ समीक्षा गर्दै रिजालले लेखेका छन्।

Comments
Loading...
You might also like