यी हुन् संसारकै सबैभन्दा कान्छी अर्बपति

KYlie jenner
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी । अमेरिकाकी काइली जेनर संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्। उनी आफ्नै बलबुतामा अहिलेसम्मकै सबै भन्दा कान्छी अर्बपति हुन् ।

फोब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्। गत वर्ष मात्र उनको कम्पनी काइली कस्मेटिक्सले ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो ।

चर्चित काड्र्याशियन परिवारकी सदस्य उनी एक्काइस वर्षमै अर्बपतिको सूचीमा पर्दा उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि उछिनेकी छन्। । कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए । जेनरले फोब्र्सलाई भनिन्, ‘मैले यस्तो केही अपेक्षा गरेकी थिइनँ । मैले भविष्यको यस्तो लक्ष्य पनि राखेकी थिइनँ ।

तैपनि यस्तो सूचीमा पर्दा साँच्चिकै खुसी लागेको छ । कसैले आफ्नो काँधमा धाप मारिदिएजस्तो लागेको छ ।’ सन् २०१९ को सूचीमा १३१ अर्ब अमेरिकी डलर सम्पत्तिसहित अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा छन्। उनको कुल सम्पत्ति गत वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढेको छ ।

तर, फेसबुकका मार्क जुकर्बर्गको सम्पत्ति भने घटिरहेको छ । फोब्र्स सूचीका अनुसार गत वर्ष रहेको उनको सम्पत्ति ६२.३ अर्ब अमेरिकी डलर रहेकोमा यो वर्ष त्यो ८.७ अर्ब डलरले घटेको छ ।
माइक्रोसफ्ट संस्थापक गेट्सको सम्पत्ति भने ९० अर्ब डलरबाट बढेर ९६.५ अर्ब डलर पुगेको छ । फोब्र्सको गणनामा परेका दुई हजार एक सय ५३ धनी व्यक्तिमध्ये २५२ जना महिलाहरू छन्।

आफ्नै पौरखमा सबैभन्दा धनी महिला भने चीनकी प्रभावशाली घरजग्जा व्यवसायी वू याजुन छिन्। उनको सम्पत्ति झन्डै ९.४ अर्ब डलर रहेको बताइन्छ । आफ्नै प्रयासमा अर्बपति हुने त्यस्ता महिलाको सङ्ख्या पहिलो पटक सबैभन्दा धेरै ७२ पुगेको थियो जुन गतवर्ष ५६ थियो । सबैभन्दा धेरै अर्बपति अमेरिकाका ६०७ जना छन् भने त्यसपछि चीनका ३ सय २४ जना छन्।


विनोद चौधरी अर्बपतिहरूको सूचीमा १३४९ औँ स्थानमा छन्। फोब्र्स म्यागजिनले यस वर्ष पनि उनलाई मात्र नेपाली अर्बपतिका रूपमा सूचीकृत गरेको छ । उनको स्वामित्वमा १.७ अर्ब डलर बराबरको सम्पत्ति रहेको फोब्र्सले उल्लेख गरेको छ । उनी सन् २०१३ देखि फोब्र्सको सूचीमा पर्दै आएका हुन्। ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्