‘आचारसंहिता बनाएर भीआईपीको उडान गर्नुपर्छ’

Yogesh bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, १७ फागुन । नेकपा नेता तथा सांसद योगेश भट्टराईले भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका छन् ।

मन्त्री रवीन्द्र अधिकारीको निधनबाट पाठ सिक्दै उनले अब तत्काल भीआइपी उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका हुन् ।

शुक्रबार बिहान टुँडिखेलमा मन्त्री अधिकारीलगायत हेलिकोप्टर दुर्घटनामा दिवंगत भएकाहरुमाथि श्रद्धाञ्जली अर्पण गर्न पुगेका सांसद भट्टराईले पाथीभराको हेलिकोप्टर उडानमा सावधानी नपुगेको बताए ।

विद्यार्थी आन्दोलनमा रविन्द्र अधिकारीका सहपाठी समेत रहेका उनले यो दुर्घटनाबारे सरकारबाट गठित समितिले छानविन गर्नुपर्ने बताए । भट्टराईले भने, ‘सावधानी पुगेन भन्ने लाग्छ । अब कोड अफ कन्डक्ट, आचारसंहिता बनाएर सर्वसाधारण तथा भीआईपीको उडान गर्नुपर्छ ।’

मन्त्री रविन्द्र अधिकारीलाई सम्झँदै उनले भने ‘रविन्द्रजीसँग मेरो लामो सहकार्य रह्यो । झण्डै ३ दशक लामो । त्यो क्रममा उहाँ र मेरो बीचमा अत्यन्तै घनिष्ठता रह्यो । अनौपचारिक सम्बन्ध पनि रह्यो । पारिवारिक पनि । यो क्रममा मैले उहाँलाई धेरै असल र राम्रो सम्भावना भएको मान्छेका रुपमा पाएँ ।’

आफूले रविन्द्र अधिकारीलाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, जनताले विश्वास गर्न सक्ने व्यक्तिको रुपमा बुझेको उनको भनाई थियो ।

‘संगठनको आधारभूत तहदेखि काम गर्दैगर्दै अनेरास्वियुको केन्द्रीय अध्यक्ष पनि हुनुभयो,’ उनले भने, ‘पोखराको पीएन क्याम्पस र काठमाडौंको त्रिविमा स्ववियु सभापति हुनुभयो । ३ ३ पटक संसदीय निर्वाचनमा विजय हासिल गर्नुभयो । यसले उहाँ जनतासँग पनि त्यतिकै घनिष्ठता हासिल गर्ने व्यक्ति हुनुहुन्छ भन्ने देखिन्छ ।’

भट्टराईले मन्त्री अधिकारीले अन्तरराष्ट्रिय एयरपोर्टलाई सुधार्ने, २१र२२ घन्टा चलाउने, भैरहवा पोखरा विमानस्थलमा तदरुकता देखाउने, निजगढमा छिटो अगाडि बढ्ने, विमानस्थल स्तरोन्तिमा लाग्ने, भ्रमण वर्ष २०२० घोषण गरेर योजना बनाउने जस्ता प्रगतिहरु गरेकोे बताए ।