डा. ऋषिराज अधिकारी/
विडम्बना ! नेपालका दुई छिमेकी मित्र राष्ट्रहरु फेरि एकपटक पौठेजोरी खेल्न उद्वत छन्। यस समस्याको जरा सन् १९४७ मा आफू यस उप–महादेशबाट बाहिरिने समयमा ब्रिटेनले रोपिदिएको थियो। बृहत भारत वर्षलार्ई पूर्व र पश्चिम पाकिस्तान र भारतमा बाँडेर दुई देशमा विभक्त गर्दा मुस्लिम र हिन्दू आस्थामा बाँडिएका जनताबीच परस्परविरोधी भावना र मनस्थिति विकसित हुन पुग्यो। काश्मीरको स्वामित्वका लागि यी दुई राष्ट्रबीच दीर्घकालीन मनो–मालिन्यको बिउ रोपिन पुग्यो। यसका लागि यी दुई देश पटकपटक युद्वमा होमिइसकेका छन् र सो क्रम हालसम्म जारी छ।
सन् १९४७ मा दुई देशमा विभाजन भएपश्चात् लगत्तै सन् १९४८ मा पहिलो युद्व हुन पुग्यो। तत्पश्चात सन् १९६५ मा यी दुई देश फेरि दोस्रो युद्धमा होमिए। दुवै युद्वमा भारतको पल्ला भारी भए पनि पूर्वमा रहेको पाकिस्तान र पश्चिमी पाकिस्तानसँगको लडाईमा दुई विपरीत दिशामा एकैसाथ लड्दा आफ्नो फौज र अन्य श्रोत साधन बाँडिएर समस्या आएको सिकाइबाट भारत आजित भएकाले पूर्वी पाकिस्तानलाई अलग्गाएर पाकिस्तानलाई कमजोर पार्ने नीति अख्तियार गर्यो। सन् १९७१ मा भएको दुई हप्ते घमासान युद्वपश्चात बङ्गाली भाषी पूर्वी पाकिस्तानलाई अलग राष्ट्र ‘बङ्गलादेश’मा परिणत गर्न भारत सफल भयो। यो प्रक्रियामा सोभियत संघले भारतलाई संयुक्त राष्ट्रसंघमा भारतको चाहानाबमोजिम भिटोको प्रयोग आदि गरेर गतिलो सहयोग पुर्याएको थियो।
तत्पश्चात अर्को लडाई कारगिलमा सन् १९९९ मा भएको थियो। यस बीचमा दुई देशबीच सानातिना भीडन्तलाई दिनानुदिन घट्ने सामान्य घटनाको रुपमा लिइन्छ, जस्तैः सन् २००१ को भारतीय पार्लियामेन्टमा भएको आक्रमण आदि। सन् २०१६ मा भारतको उरीमा पाकिस्तानले हमला गरेपछि फेरि अर्को भिडन्त भएको थियो। सो भीडन्तपछि पाकिस्तानमा हुने तय भएको सार्क सम्मेलनमा भारतले भाँजो हालेर हालसम्म उक्त सम्मेलन कार्यान्वयन हुन सकेको छैन। यसरी सार्क क्षेत्रीय संगठनका दुई शक्तिशाली सदस्य राष्ट्रहरुको पटक पटकको झगडाले सार्कलाई कमजोर बनाउने र यसबाट आठ सदस्य राष्ट्रहरुका गरीबीले आक्रान्त जनताहरुलाई पुग्नसक्ने लाभमा कुठाराघात पुग्ने गरेको छ।
यी दुई देशबीच हाल आएर अर्को द्वन्द शुरु भएको छ। गत हप्ता काश्मीरको पुलोवमा पाकिस्तानी लडाकु संगठन जेश–ऐ–महमदको बम आक्रमणमा परी करीब ४० जना भारतीय केन्द्रीय रिर्जभ पुलिस फोर्सका जवानको मृत्यु भएपश्चात दुवैै तर्फबाट अत्यधिक गोलाबारी भएको छ। यस्तो परिप्रेक्ष्यमा यो द्वन्द पूर्ण युद्वमा परिणत हुँदै गएको देखिन्छ। भारतले सो आक्रमणमा पाकिस्तानी सत्ताको पूर्ण जानकारी र सहयोगमा उनकै कठ्पुतली आतंकवादीले गराएको दोष लगाएको छ भने पाकिस्तानले सो कुराको खण्डन गर्दै भारत नियन्त्रित कश्मीरी लडाकुहरुले गराएको र उक्त आक्रमणमा आफ्नो फौजको कुनै संलग्नता नभएको जनाएको छ।
भारत र पाकिस्तानको यो दीर्घकालीन समस्याको जरो यही काश्मीरको विवाद नै हो। कश्मीर राज्य अति सुन्दर र पर्यटकीय दृष्टिकोणले भरिपूर्ण छ। सन् १९४७ मा भारतबाट पाकिस्तान छुट्टै राष्ट्र बनाउने क्रममा काश्मीरबारे निर्णय लिन भारत, पाकिस्तान र ब्रिटेन तीनै देश संवेदनशील हुन सकेनन्। काश्मीरलाई भारत र पाकिस्तानले एकलौटी आफ्नो भू–भागमा भएको र पूर्ण रुपले आफूमा गाभिनुपर्ने अडान पेश गर्दछन्। हाल काश्मीर दुई खण्डमा विभक्त भएर आधा पाकिस्तान र आधा भारतमा गाभिएको छ। त्यही आधा भाग आफ्नो कब्जामा ल्याउन पटकपटक लडाई गर्दै आएका छन्।
भारतका अनुसार यी जैस–ए–महमदजस्ता भारतद्वारा आतंकवादी नामाकरण गरिएका लडाकु संगठनले आक्रमण गरी भारतले शासन गरिरहेको काश्मीरको आधा भाग भारतबाट अलग्याउने कोशिसमा छ। काश्मीरको स्वामित्वको यो मुद्वा संयुक्त राष्ट्र संघमा छलफल हुँदा सुरुबाटै काश्मीरीहरुको जनमत संग्रह गराउनुपर्ने फैसला गरिएकोमा भारतले सो प्रस्तावको विरोध गर्दै आएको छ। भारतलाई पूर्व अनुमान छ कि धर्मको आधारमा बहुमत काश्मीरीहरुले भारत शासित काश्मीर अलग्याउने छन्।
हाल विकसित भएको लडाईंमा दुई राष्ट्रकै आ–आफ्नो जीतको दावी गरिएको छ। पुलोवामा पाकिस्तानी तर्फबाट भएको बम आक्रमणमा परी ४० जना केन्द्रीय रिजर्ब पुलिसको मृत्यु भएपश्चात भारतको तर्फबाट जवाफी कारबाही सुरु गरियो। भारतीय पक्षबाट दिएको जानकारीअनुसार पाकिस्तान नियन्त्रित कश्मीरको बालकोत अवस्थित जैश–ए–मोहम्मदको मुख्य कार्यालयमा बमबारी गरी तहसनहस बनाएको छ। त्यहाँ रहेका भौतिक संरचना ध्वस्त गर्नुका साथै ३५० जना कार्यकर्ता मारिएका छन्। भारतको उपरोक्त दावीलाई पाकिस्तानले अस्वीकार गर्दै आफ्नोतर्फ कुनै क्षति नभएको जानकारी गराएको छ।
त्यस्तै, पाकिस्तानले भारतका दुईवटा लडाकु जहाज खसालेको र दुई जना पाइलटलाई जिउँदै पक्रेको समाचार बाहिर ल्याएको थियो। तर, यो समाचार पनि झुठो भएको भारतको दावी छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो संसदलाई सम्बोधन गर्दै एक जना भारतका लडाकु चालकलाई पक्रिएकोमा उसलाई शुक्रबार छोड्ने कुराको जानकारी दिएका छन्। उनको यो कदमलाई भारतले पाकिस्तानको कमजोरी ठानेको देखिन्छ। तर, उनको कदमलाई यो द्वन्द्ध कम गर्ने र शान्ति ल्याउने सुत्रका रूपमा लिन सकिन्छ। इमरान खानले भनेका छन्, ‘भारतीय लडाकुलाई छोड्नु दुई देशबीच र दक्षिण एसिया क्षेत्रमा पनि शान्ति ल्याउने पहिलो कदमका रूपमा लिन सकिन्छ।’
माथि उल्लेख गरेअनुुसार यो द्वन्दले नेपाललाई विभिन्न रुपमा असर पार्ने देखिन्छ। भारत र पाकिस्तान दुवै नेपालका अनन्य मित्र हुन्। नेपालले एक राष्ट्रको सर्मथन गर्दा अर्को राष्ट्र हामीबाट रुष्ट हुने खतरा रहन्छ। नेपालले पाकिस्तानलाई हस्तान्तरण नगर्दासम्म सार्कको अध्यक्षता नेपालसँगै सुरक्षित छ। यी दुई राष्ट्रबीचको द्वन्दले गर्दा सार्कले गर्न नसकेका गतिविधि र यसको सक्रियतामा आउने ढिलासुस्तीको जिम्मा हाल नेपालले लिनुपर्ने छ।
करीब ५५ हजार नेपालीहरु भारतीय फौजमा कार्यरत छन्। यी वीर नेपालीका गोर्खा बटालियन र रेजिमेन्टहरु भारतीय फौजका अग्रदस्ता हुन्। भारत र पाकिस्तान बीचको लडाई बढ्दै जाँदा हाम्रा नेपाली जवानहरुले नै क्षति बेहोर्नुपर्ने हुन्छ। नेपाल र भारतको खुला सीमानाले गर्दा घुसपैठको सम्भावना रहन्छ र नेपालको राष्ट्रिय स्वार्थमा आघात पर्ने डर रहन्छ। नेपाल लगायत भारत पाकिस्तानका छिमेकी राष्ट्रहरुले यी दुई आणविक शक्ति राष्ट्रहरुको झैझगडाबाट आउनसक्ने विकिरणको खतराको सम्भावना रहन्छ नै। सार्क संगठनको अध्यक्ष र यी दुई छिमेकी र मित्र राष्ट्रको राष्ट्रिय स्वार्थलाई दृष्टिगत गरी आफ्नो मत जाहेर गर्नुपर्ने अवस्था छ। यसमा चुकेर गल्ती भएमा राष्ट्रले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ।
भारत हाम्रो ब्यापार साझेदारीको प्रमुख राष्ट्र हो। युद्वको बहानामा फेरि नेपालसँगको सीमानामा अवरोध पुर्याउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। यसले नेपालीबीच भारतविरोधी भावनामा मलजल मिल्ने देखिन्छ। भारतसँगको सम्वन्ध अनाहकका बिग्रिन गएमा देश विकास र सम्वृद्व नेपालीको चाहनामा कुठाराघात पुग्न सक्दछ। सार्क अध्यक्ष र मित्र राष्ट्रका हैसियतले नेपालले दुवै राष्ट्रलाई युद्वले क्षति पुर्याउने र गरीब जनता र उनीहरुको अविकसित अवस्थामा झनै समस्या थपिने यथार्थको बोध गराउन प्रयत्न गर्नुपर्दछ र युद्वबाट बिमूख गराउन कोशिस गर्नुपर्दछ।
युद्व कुनै पनि समस्याको समाधान होइन। समस्या सुल्झाउनका लागि हरेक तहमा वार्ता चलाउनुपर्ने हुन्छ। भारत र पाकिस्तानको मौजुदा समस्या हल गर्न भारत र पाकिस्तानबीच घनिभूत पहल लिन जरुरी छ। सकारात्मक वार्ताका लागि प्रयत्न गर्न जरुरी छ। यो महत्वपूर्ण अवसर नेपाल लगायतका मित्र राष्ट्रहरुलाई आएको छ, यसमा हामी चुक्नु हुँदैन।