‘मौलिक भाषा, संस्कृति र भेषभुषा बचाऔं’

53439639_597
लाेकपाटी न्यूज

अनिस तामाङ, युएई । शेर्पा समुदायको राष्ट्रिय पर्व फग् ल्होसारको उपलक्ष्यमा शेर्पा किदुग युएईले २१४७ औं फग ल्होसार–२०१९ को अवसर पारेर युएईको दुबई शहरस्थित एभरेस्ट क्लब अस्टोरिया होटलमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरी भव्य रुपमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको अध्यक्षता शेर्पा किदुग युएईका केन्द्रीय अध्यक्ष निमा शेर्पाले गरेको थियो भने कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले गरेका थिए। त्यसैगरि विशेष अतिथि, अतिथिको रुपमा तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान, जनजाति महासंघ युएईका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ लगायतका विभिन्न जातीय, क्षेत्रीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।

कार्यक्रमको उद्घाटन दिप प्रज्वलन साथमा नेपालको राष्ट्रियगान गाएर उपस्थित अतिथिहरुलाई स्यार्गे दिएर गरिएको थियो। निर्धारित समयभन्दा केही समय ढिलो सुरु भएको उक्त कार्यक्रममा शेर्पा किदुग युएईका सञ्चार विभाग प्रमुख सनम शेर्पाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा महासंघका युएई अध्यक्ष पासाङ शेर्पाले पछिल्लो चरण भेषभुषामा आएको विकृतिप्रति चिन्ता व्यक्त गरे। भेषभुषा हाम्रो सांस्कृतिक चिनारी भएकाले आफ्नो मौलिक भेषभुषामा पश्चिमी समाजको प्रवेश गर्न दिन नहुने, यदि कसैले जबर्जस्ती भेषभुषामामाथि विकृति भित्राउँछ भने उक्त व्यक्तिलाई सामाजिक रुपमा बहिस्कार गर्नुपर्ने उनले बताए।

त्यसैगरि कार्यक्रमका अर्का विशेष अतिथि तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले पछिल्लो चरण आफ्नो मातृभाषा छोड्दै गरेकोमा चिन्ता व्यक्त गरे। कुन व्यक्ति कुन जातिको हो भनेर चिनिने पहिलो आधार भनेको उसको भाषा भएकाले हामी हाम्रो भाषालाई प्रमुख मान्यता दिँदै जाति बचाउन भाषा बचाउनुपर्ने बताए।

कार्यक्रममा नेपालबाट अमान्त्रित कलाकारहरु गायक गम्बु शेर्पा, डिजे तेन्जिङ, मोडल तथा डान्सर पुसन लामा, सेलो गायक आङतेन्जी शेर्पा, यङजोम शेर्पाको साथमा स्थानीय कलाकारहरुको जोडदार सांगीतिक प्रस्तुति दिएका थिए।

सामाजिक अभियान्ता यङजोम शेर्पाको सञ्चालनमा भएको कार्यक्रममा सामाजिक कामको हौसला स्वरुप उपस्थित दर्शकहरूले आर्थिक सहयोग गरेका थिए, भने नेपालबाट अमान्त्रित सबै कलाकारहरुलाई खादा लगाएर कदरपत्रले सम्मान समेत गरेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्