उदयपुर, १८ फागुन । स्थानीय क्षेत्रमा आन्तरिक पर्यटनको प्रवद्र्धन र विकास गर्न उदयपुरको पहाडी क्षेत्रका चार गाउँपालिकासहित केही नगरपालिकाले आधा दर्जनभन्दा बढी दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण कार्य शुरु गरेका छन् ।
जिल्लाको पहाडी क्षेत्रका उच्च पहाडी स्थानबाट उत्तरतिरको मनोरम हिमाली शृङ्खला र दक्षिणतिरको समथर तराईका मैदान देख्न सकिने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने भएपछि अहिले अधिकांश स्थानीय तहहरु भ्यूटावर निर्माण कार्यमा लागि परेका छन् ।
उदयपुर गढी गाँउपालिकाको उदयपुर गढीमा दुई वर्ष अघिदेखि नै भ्यूटावर निर्माण कार्य शुरु भएर अहिले सम्पन्न हुने अवस्थामा पुगेको गाउँपालिकाका अध्यक्ष मानबहादुर केपीछाके मगरले बताए । पर्यटन मन्त्रालयको आर्थिक सहयोग र गाउँपालिकाको समेत आर्थिक लगानीमा झण्डै ४४ फिट अग्लो भ्यूटावर निर्माण सम्पन्न हुने अवस्थामा पुगेको उनले जनाएका छन् ।
ताप्ली गाउँपालिकाको ताप्ली डाँडामा समेत अहिले आन्तरिक पर्यटन विकासका लागि भ्यूटावर निर्माण कार्य धमाधम शुरु भएको सोही गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताएका छन् । उनकाअनुसार गाउँपालिकाको रु. दश लाखको लगानीमा ५० फिट अग्लो भ्यूटावर निर्माण कार्य शुरु भइसकेको छ ।
लिङचुुङबुङ गाउँपालिकाको बराह डाँडामा पनि जिल्लाकै सबैभन्दा अग्लो ७२ फिट उचाइ भएको भ्यूटावर निर्माण कार्य शुरु गरिएको सोही गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले जनाएका छन् । रु. आठ करोड लगानीमा सम्पन्न हुने उक्त भ्यूटावरमा अहिले गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेर भ्यूटावर निर्माणको पहिलो चरणको कार्य प्रारम्भ गरेको अध्यक्ष राईले बताए ।
रौतामाई गाउँपालिकाको रौतापोखरी डाँडामा समेत आन्तरिक पर्यटन विकासका लागि भ्यूटावर निर्माण शुरु गरिएको छ । रौता क्षेत्रलाई बृहत् पर्यटन विकास गर्ने गुरुयोजनासहित अहिले पहिलो चरणमा रु २० लाख बजेट विनियोजन गरेर भ्यूटावरको कार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए ।
यस्तै कटारी नगरपालिकाको पहाडी क्षेत्रमा समेत आन्तरिक पर्यटनको विकास गर्न अहिले बेतिनि डाँडामा भ्यूटावर निर्माण कार्य अगाडि बढाइएको छ । त्यसका लागि नगरपालिकाले रु. २० लाख बजेट विनियोजन गरेर पहिलो चरणको कार्य अगाडि बढाएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले बताए ।
चौदण्डी नगरपालिकाको चौदण्डी गढीलाई पर्यटन विकास गर्न दुई वर्षअघि नै ४४ फिट अग्लो भ्यूटावर निर्माण भइसकेको नगर प्रमुख खगेन्द्रकुमार राईले बताए । जिल्लामा निर्माण भइरहेका भ्यूटावरबाट उत्तरीक्षेत्रका पाँचदेखि आठ वटासम्म हिमशृङ्खला देख्न सकिने बताइएको छ ।
यस्तै उत्तरी क्षेत्रका हिमाल मात्र नभएर १ नम्बर प्रदेशको दक्षिणी क्षेत्रको तराईफाँट सप्तरी, सिरहा, सप्तकोशी, इटहरी, दुहबी र विराटनगरसम्म अवलोकन गर्न सकिने ताप्ली गाउँपालिकाका अध्यक्ष थापाले बताए ।
जिल्लाको पहाडी क्षेत्रको ताप्ली, उदयपुर गढी, लिचुङबुङ र रौताबाट उत्तरी क्षेत्रको सगरमाथा हिमालसहित खुम्बुु क्षेत्र, आमादब्लम, लोत्से र पूर्वी उत्तरी क्षेत्रको अरुण, बरुण हिमाली शृङ्खलासमेत सजिलै अवलोकन गर्न सकिने रौतामाई गाउँपालिकाका अध्यक्ष खड्काले बताए ।
जिल्लाको पहाडी क्षेत्रबाट तराईको फाँट र हिमाली क्षेत्र दुवै अवलोेकन गर्न सकिने र आन्तरिक पर्यटन विकास गर्न सकिने अवस्था रहेका कारण अहिले उदयपुरको पहाडी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिले आन्तरिक पर्यटन प्रवद्र्धनको लागि पहिलो प्राथमिकता भ्यूटावर निर्माणमा दिन थालेका हुन् ।