पाल्पा, १८ फागुन । पाल्पाको तिनाउ गाउँपालिका–३ मा अवस्थित प्रसिद्ध सिद्धबाबा मन्दिरलाई महाशिवरात्रि पर्वलाई लक्षित गरेर बेहुलीझैं सजाउन थालिएको छ । मन्दिरका विभिन्न स्थानहरुमा रंगरोगन, मर्मतसम्भार लगायतका काम सम्पन्न गरिसकेको छ ।
यस मन्दिरमा भक्तजनलाई आवत–जावत गर्न आजदेखि निःशुल्क बस सेवासमेत सञ्चालन गरेको मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले जानकारी दिए ।
गत वर्षहरुमा महाशिवरात्रिको भेटीबाट बचत भएको रकम र अन्य स्रोतसमेत गरी २९ लाखमा बस समितिले नै खरीद गरी सञ्चालन गरेको छ । अहिले हरेक दिन बिहान ५ बजे बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाबाट सञ्चालन हुने गरी बस व्यवस्थापन गरिएको छ ।
बसमा भजनकीर्तन र धार्मिक प्रवचन गर्ने व्यवस्थासमेत मिलाइएको अध्यक्ष गुरुङले जानकारी दिए । सिद्धबाबा मन्दिर बुटवलबाट करीब छ किलोमिटर उत्तरमा रहेको छ ।