सांसद सुवालको माग : ‘किसान र मजदूरलाई पनि निवृत्तभरण दिनुपर्छ’

सुवाल
लाेकपाटी न्यूज

काठमाडौं, १८ फागुन । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसद प्रेम सुवालले किसान र मजदूरलाई पनि निवृत्तभरण दिने व्यवस्था गर्न माग गरेका छन् । उनले आजको प्रतिनिधि सभा बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेसँगै छलफलका क्रममा यस्तो माग गरेका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको उक्त विधेयकको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले भने, ‘किसान र मजदूरलाई पनि निवृत्तभरण दिने व्यवस्था गर्नुपर्छ । पहिले एक सय रुपैयाँले झोलाभरी समान आउँथ्यो, अहिले एक हजारले पनि केही आउँदैन । निवृत्तभरण लिनेलाई त केही होला, नहुनेलाई के होला ? सबैलाई राहत दिने व्यवस्था गर्नुपर्छ ।’

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते मङ्गलबार बस्ने बताइएको छ ।