काठमाडौं, १९ फागुन । हिजो शनिबार राति निधन भएका पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको शव नेकपा कार्यालय धुम्बाराहीमा राखिएको छ । उनको पार्थिव शरीरमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्षसमेत रहेका अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति काठमाडौंको ह्याम्स अस्प्तालमा उपचारकै क्रममा निधन भएको हो । वि.सं. १९९३ साल वैशाख २२ गते महोत्तरीको भमरपुरमा रामचन्द्र अधिकारी र पूर्णकुमारी देवीका कान्छा सुपुत्रका रुपमा भरतमोहनको जन्म भएको थियो । दुई पटक उपप्रधानमन्त्री भइसकेका अधिकारीले चारपटक अर्थ मन्त्रालय सम्हालेका थिए ।
स्वर्गीय अधिकारीको अन्त्येष्टि आजै गरिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टीका नेता भरतमोहन अधिकारीको निधनमा आज आइतबार देशभर रहेका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।