वादीसँग माफी माग्न सरस्वती प्रतीक्षालाई सर्वाेच्चकाे आदेश

Nathiya
लाेकपाटी न्यूज

काठमाडौं, २० पागुन । सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास नथियामाथि बादी समुदायले आपत्ति जनाएपछि संशोधन गर्नुपर्ने भएको छ ।

बादी समुदायको समस्या उठान गरेको भनिएका चर्चित कृति नथिया, विवेक ओझाद्वारा लिखित ऐलानी र चलचित्र पण्डित बाजेको लौरीलाई सर्वोच्च अदालतले संशोधन गर्न आदेश दिएको हो ।
ती कृतिमा वादी समुदायको आत्मसम्मानमा ठेस र्पुयाउने र राज्यले बादी समुदायमाथि प्रयोग गर्न नपाइने भनी किटान गरेका शब्दलाई महत्वका साथ प्रयोग गरेको भन्दै बादी अगुवाहरु सर्वोच्च अदालत पुगेका थिए ।

ती कृतिबाट त्यस्ता शब्द हटाएर श्रष्टाले बादी समुदायसँग क्षमा माग्न माग निर्देशनात्मक आदेश जारी गर्न माग गर्दै मीना नेपालीसमेतका बादी अगुवाहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् । फागुन १५ गते सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले उपन्यासमा प्रयोग भएका आत्मसम्मानमा ठेस र्पुयाउने, जातीय विभेद जनाउने शब्दहरु हटाउन र बादी समुदायसँग माफी माग्न निर्देशनात्मक आदेश जारी गरेको हो ।

बादी अगुवाले दायर गरेको रिटमा सर्वोच्चबाट निर्देशनात्मक आदेश जारी भएको अधिवक्ता शशी बस्नेतले बताइन् । उनले भनिन्, ‘आदेशको लिखित रुप त आएको छैन, तैपनि रिटमा जे जे मागदावी गरिएको थियो, त्यही आदेश भएको छ भन्ने हाम्रो अनुमान हो ।’

आदेश सार्वजनिक नभए पनि वादी अगुवाहरु आफूले रिटमा माग दावी गरेकै विषयमा आदेश भएको हुनसक्ने बताउँछन् । उपन्यास र फिल्ममा बादी समुदायका पुरुषले माछा मार्ने, मादल बजाउने र श्रीमतीका लागि ग्राहक खोज्ने गरेको देखाइएको छ । तर, बादी समुदायमा विवाह गरेका महिलाले यौन व्यवसाय गर्दैनन् । तथ्य नै तोडमोड भएको भन्दै बादी समुदायले आपत्ति जनाएका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्