काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले दिवङ्गत भएका पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको श्रद्धाञ्जली सभा यही फागुन २३ गते आयोजना गर्ने भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको उपत्यकाका जिल्ला पार्टी तथा जनवर्गीय संगठनका केन्द्रमा उपलब्ध नेताहरुको बैठकले पार्टीका दुई प्रभावशाली नेताप्रति श्रद्धाञ्जली व्यक्त गर्न २३ गते अर्थात बिहीबार भृकुटीमण्डपमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
श्रद्धान्जली सभालाई पार्टीका दुबै अध्यक्षहरुले सम्बोधन गर्नेछन् । श्रद्धाञ्जली सभामा प्रभावकारी उपस्थितीका लागि पार्टी महासविच विष्णु पौडेल सहित नेताहरु अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, हितबहादुर तामाङ्ग, आनन्द पोखरेल लगायतले आग्रह गरे ।
बैठकमा उपस्थित भएका सङगठन र कमिटिमा नेताहरुले सभामा सक्दो उपस्थित गराउने रिपोर्टिङ गरेका छन् । मन्त्री अधिकारीको गएको बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।
त्यस्तै पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको शनिबार ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।