काठमाडौं। समय नपुग्दै सरुवा गरेको भन्दै सरकारविरुद्ध पत्रकार सम्मेलन गरेका सरकारका उपसचिव प्रेम सञ्जले यतिबेला सबैतिर चर्चामा छन्। श्रम मन्त्रालयले अवधि नपुग्दै सरुवा गरेको भन्दै उनी सर्वोच्च पुगेर ‘स्टे–अर्डर’समेत लिएर आएका छन्।
भ्रष्टाचारविरोधी छवि बनाएका उपसचिव सञ्जेलले नेपाल सरकारका कर्मचारी राणाकालका भतुवाहरुको जमात भएको आरोपसमेत लगाएका छन्। उनले आफ्नो ३ मिनेट लामो भिडियोमा नेपालमा कसरी हुन्छ भ्रष्टाचार, कसरी खान्छन् घुस ? भन्ने कुराको रहस्य खोलेका छन्। पढौं सञ्जेलको विचार।
मैले मेरो अफिसमा ‘हामी घुस खाँदैनौं, तपाई घुस दिन आउनुभएको भए उल्टो कार्वाहीमा पर्नुहोला हजुर, सावधान’ वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेल भनेर सही गरेर, छाप लगाएर बाथरुममा पनि टाँसेको छ। गफले, उखान टुक्काले भ्रष्टाचार रोकिँदैन सम्माननीय प्रधानमन्त्री महोदय, कार्यान्यवनले रोकिन्छ। म कार्यान्वयनमा आएको थिएँ।
नेपालको कर्मचारीतन्त्र राणा कालको हुक्के, ढोके, छाते, नोकेर, भतुवा, चिलिमे, सूर्ति बेरेर ख्वाउने त्यस्तो हो। नेपालको कर्मचारीतन्त्रले ब्यूरोक्रेसीको फिचर नै ज्ञान गरेको छैन। यो राणाकालका भतुवाहरुको जमातबाट आएको लिगेसी भन्छ, त्यस्ता छन्।
नेपालका राजनीतिज्ञहरु जो आए पनि भाषणमा दिनभरि भ्रष्टाचारविरोधी भाषण गर्ने र रातभरि भ्रष्टाचारको कमिसन खाने छन्। अहिलेको सरकार त कम्युनिष्टको हो नि। यो कुरा त, यति त मलाई पनि थाहा छ नि। यति म पनि जान्दछु नि कम्युनिष्ट भनेको सर्वहारा वर्गको नेतृत्व गर्ने, सबैभन्दा केही नहुनेको गर्ने भन्नेहरुले भ्रष्टाचारविरुद्ध काम गर्दाखेरि यसरी सरुवा गर्छन् भने उनीहरु ‘गुड मेन बट सराउण्डेड वाई द एभिल्स भन्छ अङ्ग्रेजीमा। मान्छे त मान्छे, महादेव त महादेव तर भूत, प्रेत, पिसाब, चतसठ्ठी जोगिनी, वीरभद्रा महाकालीले घेरिएका छन् कि उहाँको पनि बुद्धि त्यतै लागेको हो कि ?
नेपालमा नापीमा जानुस् घुस। मालमा जानुस् घुस, सिडिओ कार्यालय जानुस् घुस, अदालतमा जानुस् घुस, सत्र किलो काण्ड सुन्नु भएको छ, ४ हजार किलो सुन पनि सुन्नुभएको छ। चार टन सुन गोरेको काण्ड पनि सुन्नुभएको छ। कर्मचारीतन्त्रमा त्यो हुक्के, ढोके, भतुवा, नोकरको फिचर आउनु, राजनीतिज्ञमा गाउँमा गरेका कमिन्टमेन्ट यहाँ आएपछि र आठ हजार रुपैयाँ बोत्तलको रक्सी कर्मचारीले ख्वाएर पल्केर, छोराछोरी रातो बङ्गालामा भर्ना गरिदिएपछि उहाँहरुको नियत खराब हुनु र स्वास्नीले भरे आउँदाखेरि मलाई सुनको चुरा ल्याइदिनु भनेर घरपरिवारबाट दवाव हुन्छ।
हाम्रो पनि काठमाडौंमा घडेरी किन्नुपर्यो, कहाँ–कहाँ के–के खानुपर्छ, खानुपर्यो भनेर पारिवारिक दवाव आउँछ। यी सबै कुराको क्युमिलिटिभ असरले गर्दाखेरि यहाँ भ्रष्टाचार भएको हो। अख्तियार, जसले भ्रष्ट कर्मचारीलाई, भ्रष्ट नेतालाई कार्वाही गर्नुपर्ने हो, त्यसको आयुक्त राजनारायण पाठक चाहिँ ७८ लाख घुस खाएर आरामले उघ्राएर कारमा हिँड्ने, अनि राजीनामा दिएर फुत्किन पाइन्छ ? जति पनि घुस खाने एक भकारो, एउटा मलको खाडी जति घुस खाने, अनि राजीनामा दिएर हुन्छ ? यी प्रवृत्तिले गर्दा घुस मौलाएको हो।
अर्को कुरा, अर्थ मन्त्रालयले बजेट पेश गर्दैछ, रक्सीमा भाउ बढ्दैछ कि चुरोटमा भाउ बढ्दैछ कि कपडामा बढ्दैछ, पहिल्यै गएर व्यापारीलाई सुनाइदियो, अनि सबै सामान लुकायो, अनि कर बढ्नुभन्दा अगाडिको भाउको सामान हामी गरीब मोरालाई कर बढेपछिको भाउमा बेच्यो, त्यस्तो सिर्तो राजनीतिज्ञ, कर्मचारी मिलेर खान्छन्। अनि, व्यापारीलाई त भई नै गयो। तपाई हामीलाई सस्तो त दिँदैन कसैले पनि। यो आजै किनेको भन्छ, कर बढेपछि किनेको भन्छ।’